१ जेष्ठ २०८२, बिहिबार

बलेरो गाडीमा आगलागी हुँदा ताप्लेजुङमा चार जनाको मृत्यु

प्रकाशित मिति :  21 April, 2025 9:43 am


काठमाडाैँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बलेरो गाडीमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मे १च ३०११ नम्बरको बलेरो गाडी फुङ्लिङ नगरपालिका–१० सेवारोचोक नजिकै आइपुग्दा अचानक आगलागी भएको हो ।

बिहान करिब ५:०० बजेतिर विद्युतको पोलबाट चुँडिएको तार सडकमा खसेको र सोही तारमा गाडी अल्झिँदा एक्कासि आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृत्यु हुने यात्रुहरूको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, र गाडीका चालक ताप्लेजुङ फुङ्लिङ नगरपालिका–१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।

घाइते हुनेमा ललितपुर–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य रहेका छन्। उनीहरूको उपचार जिल्ला अस्पताल ताप्लेजुङमा भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा खटिएको १५ सदस्यीय टोली तत्काल घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !