३१ बैशाख २०८२, बुधबार
लुम्बिनीमा खाद्य प्रणाली संवाद

लुम्बिनीमा खाद्य सङ्कट गहिरिदै : उत्पादनमा जोड दिन सरकारलाई आग्रह

प्रकाशित मिति :  21 April, 2025 12:10 pm


दाङ । लुम्बिनी प्रदेशमा पोषण संकट गहिरिँदै जाँदा कुपोषण, मातृमृत्यु दर बढ्दै गएकाले यसलाई रोक्न खाद्य सुरक्षामा ध्यान दिनुपर्ने दाङको लमहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

लुम्बिनी प्रदेश सरकार योजना आयोगले आयोजना गरेको खाद्य प्रणाली संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले तीन वटै तहका सरकारले कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।

लुम्बिनी प्रदेशको कृषि प्रणाली र पोषण सुरक्षाका विषयमा प्रश्न उठ्दै आएको बताउँदै वक्ताहरुले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य जयबहादुर चन्दले नेपालको कृषि प्रणाली चुनौतीपूर्ण रहेको बताए । “नेपाल सरकारले १६औं योजनामा कृषिलाई प्राथमिकता दिँदै रणनीति तय गरे पनि निर्वाहमुखी कृषि प्रणालीको आधुनिकीकरण गर्न चुनौती कायमै छ”, उनले भने, “नेपालमा धेरै कुरा गरिने तर काम थोरै हुने प्रवृत्तिले कृषिमा उल्लेखनीय सुधार हुन सकेको छैन । यो प्रवृत्तिको अन्त्यका लागि सबै लाग्नुपर्दछ ।”

लुम्बिनी प्रदेशको पोषण अवस्था चिन्ताजनक रहेको औँल्याउँदै उनले भने, “आइरनको गम्भीर अभाव, उच्च मातृमृत्यु दर र कमजोर पोषण सूचाङ्कले लुम्बिनीलाई मुलुकमै अति समस्याग्रस्त प्रदेशका रुपमा प्रमाणित गरेका छन ।”

प्रदेश सरकारले यो अवस्थालाई ध्यानमा राखेर कृषि, पोषण तथा स्वास्थ्यका क्षेत्रलाई समेट्ने नीति बनाउन उनको आग्रह थियो । २०२६ सम्म नेपाललाई विकसित राष्ट्रको श्रेणीमा पु¥याउने सपना साकार पार्न कृषि र पोषणलाई केन्द्रीय मुद्दा बनाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति महासंघ लुम्बिनीका अध्यक्ष दोर्ण खत्रीले खाद्य सुरक्षाको अभियान तीनै तहका सरकारले मिलेर सञ्चालन गर्नुपर्ने धारणा राखे ।

“हालका अभियान तराई केन्द्रित छन् तर पहाड क्षेत्रहरू अझै पनि पछाडि छन्, तसर्थ पहाड केन्द्रित खाद्य कार्यक्रम आवश्यक छन्”, उनले भने । कृषिलाई वास्तविक प्राथमिकता दिई बजेट बिनियोजन गर्नुपर्ने उनले माग गरे ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डब्लु एच एचका कन्ट्री डाइरेक्टर शकीब नवीले खाद्य सुरक्षाको संकटमा बसाइसराइको ठूलो भूमिका रहेको बताए ।

“कृषियोग्य जमिन आवासका लागि प्रयोग भइरहेको छ”, उनले भने, “यो प्रवृत्तिले उत्पादन घटाउँछ र खाद्य सुरक्षालाई जोखिममा पार्छ । यसतर्फ तत्काल ध्यान दिनु आवश्यक छ ।”

कार्यक्रममा पूर्वमन्त्री विष्णु पन्थी, उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्मा, गैरसरकारी महासंघ लुम्बिनी अध्यक्ष जीतकुमारी बेलबासे, नेपाल पत्रकार महासंघका अध्यक्ष शुक्रऋषि चौलागाईँ र गाउँपालिका महासंघका सदस्य भक्तबहादुर जीसीले खाद्य सुरक्षाको बहुआयामिक स्वरूपमाथि प्रकाश पार्दै स्थानीय स्तरमा आधारित र समावेशी योजना आवश्यक रहेको बताए । वक्ताहरुले खाद्य प्रणालीको सुधार र पोषण सुरक्षाका लागि लुम्बिनी प्रदेशले अब बोल्ने मात्रै नभई काम गरेर देखाउनु पर्ने बताएका थिए । योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आयोगका सदस्य भुवन चौधरीले गरेको थिए ।



प्रतिक्रिया दिनुहोस !