पोषण सुधारका लागि रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ-मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा प्रदेश सरकार विशेष रुपमा क्रियाशील रहेको बताएका छन् ।
समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली निर्माण गरी स्वच्छ र पोषणयुक्त खाद्यमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आयोजित “खाद्य प्रणाली संवाद कार्यक्रम” मा उनले रैथाने बालिको संरक्षण, प्रवर्द्धन र प्रयोगमा आधारित नीति ल्याइने घोषणा गरे ।
मुख्यमन्त्री आचार्यले रैथाने मकै, गहुँ, जौं, फापर, कोदो आदि खाद्यान्नमा पोषणको मात्रा बढी रहेको उल्लेख गर्दै, यस्ता बालीको उत्पादनलाई अर्गानिक आधारमा अगाडि बढाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले विद्यालय तहदेखि समुदायस्तरसम्म पोषण सन्देश फैलाउनुपर्ने र यसमा तीनै तहका सरकार, सामाजिक संघसंस्था र नागरिकको सहभागिता अपरिहार्य रहेकोमा जोड दिए ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागीहरूबाट अशल खानपान प्रवर्द्धन, विषादीरहित कृषि अभ्यास, र कुपोषण न्यूनीकरणका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेको सुझावहरू प्रस्तुत गरिए।
लुम्बिनी प्रदेशमा कुपोषण, मातृ र बाल मृत्यु दर, रक्तअल्पता र बालविवाहजस्ता समस्याको अवस्था गम्भीर रहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले यस्ता समस्याको न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले मिडियालाई पनि पोषणसम्बन्धी जनचेतना फैलाउने अभियानमा साथ दिन आग्रह गरे।