नेकपा एमालेको नेतृत्वमा लोकतान्त्रिक आन्दोलन अघि बढेको महासचिव शंकर पोखरेलको भनाइ

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले लोकतान्त्रिक आन्दोलनमा निरन्तर योगदान पुर्याउँदै आएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित नेकपा (कम्युनिष्ट पार्टी) को ७६औं स्थापना दिवसको अवसरमा बोल्दै महासचिव पोखरेलले विभिन्न कठिन परिस्थितिमा पनि कम्युनिष्ट नेताहरूले मुलुकभित्रै रहेर लोकतन्त्रको पक्षमा संघर्ष जारी राखेको स्मरण गराए ।
“दलहरू माथि प्रतिबन्ध लागेको बेलामा पनि हामीले देशभित्रै लोकतन्त्रका लागि आन्दोलन गरेका छौँ,” महासचिव पोखरेलले भने, “कम्युनिष्ट आन्दोलनको निरन्तरताका रूपमा नेकपा एमाले आज देशको अग्रणी शक्ति बनेको छ ।”
उनले नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न घटनाबाट पाठ सिक्दै अघि बढेको उल्लेख गर्दै त्यसमा एमालेले अगाडि सारेका विचार र मान्यताहरू मार्गदर्शक बनेको बताए ।
“हाम्रो पार्टीले प्रतिपादन गरेका विचारहरू नेपालका लागि उपयुक्त र सान्दर्भिक छन्,” पोखरेलले भने, “त्यही विचारले लोकतान्त्रिक आन्दोलनलाई सही दिशा दिएको छ।”
कार्यक्रममा बोल्दै पोखरेलले पछिल्लो समय राजावादी प्रवृत्तिका नाममा पूर्वमण्डलेहरूबाट भइरहेको राजनीतिक आक्रमणप्रति चेतावनी दिए। “राजावादी आवरणमा संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भइरहेको छ,” उनले भने, “यस्ता प्रवृत्तिहरूलाई जनसमक्ष ल्याउनु हामी सबैको दायित्व हो।”
स्थापना दिवसको कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि एमालेको ऐतिहासिक भूमिका, वर्तमान दिशा र भविष्यका योजनाबारे विचार राखेका थिए। कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो।