३ जेष्ठ २०८२, शनिबार

सङ्घर्ष र समर्पणको पर्याय शोभाराम बस्नेत

प्रकाशित मिति :  23 April, 2025 5:10 am



टोपेन्द्र रोका मगर,
शोभाराम बस्नेत एक संघर्ष र समर्पणको पर्याय हुनुहुन्छ, जसले नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण स्थान बनाउनु भएको छ । नेपालका कम्युनिस्ट आन्दोलनका एक दिग्गज नेता, उहाँले आफ्नो जीवनका कष्टपूर्ण पलहरूलाई अडिग इच्छाशक्ति र समर्पणका साथ पार गर्नु भएको छ । रोल्पामा जन्मिएर दाङ जिल्लालाई कर्मथलो बनाउनु भएका बस्नेतको सङ्घर्षले नेपाली कम्युनिस्ट आन्दोलनको विकासमा योगदान पु¥याएको नकार्न सकिदैन ।

विस.सं २००४ सालमा रोल्पाको साविक बुढागाउँ गाविस हालको त्रिवेणी गाउँपालिकास्थित एक सामान्य किसान परिवारमा शोभारामको जन्म भएको थियो । रामप्रसाद बस्नेत र कोशिला बस्नेतका चार भाइ र एक बहिनीमध्ये जेठो सन्तानका रुपमा जन्मिएका शोभारामको बाल्यकालको दुःखमा बित्यो ।

बाल्यकालको धेरै समय रोल्पामा बिताएका शोभारामको परिवार उनको बाल्यकालको उत्तराद्र्धमा दाङको डुडुवा गाविसमा बसाइ सरेको थियो । दाङ बसाइसराइसँगै उहाँको प्रारम्भिक जीवन कष्ट र सङ्घर्षमा बितेको थियो । बाल्यकालको यही सङ्घर्षले उहाँलाई समाज र राष्ट्रका लागि योगदान दिने महान् यात्रा आरम्भ गर्न सघाउ पुर्याएको थियो ।

शिक्षा र जागरूकतामा शोभारामको यात्रा पनि प्रेरणादायक छ । महेन्द्र हाई स्कूल, तुलसीपुरबाट प्रवेशीका उत्तीर्ण गर्नुभएका शोभारामले भारतको बनारसबाट अंग्रेजी विषयमा स्नातक उत्तीर्ण गर्नु भएको थियो । उहाँले शिक्षा मात्र प्राप्त गर्नु भएन, त्यससँगै उहाँ राजनीतिक चेतनामा पनि उत्तिकै समर्पित हुनु भयो । १९ वर्षको उमेरमा उहाँले २०२३ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएका शोभारामको जीवन कम्युनिष्ट आन्दोलनमै बित्यो ।

कम्युनिस्ट पार्टीको सदस्य बनेकै कारण २०३० सालमा उहाँलाई पञ्चायती सरकारले एक वर्षको जेल सजाय सुनायो । यस समयका घटनाहरूले शोभारामको सङ्घर्षलाई अझ दृढ बनायो । जेलबाट छुटेर उहाँले २०३१ सालमा भूमिगत जीवन सुरु गर्नु भयो । सात वर्षसम्म भूमिगत जीवन बिताउनुभएका उहाँले नेपालका विभिन्न भागमा क्रान्तिकारी गतिविधि सञ्चालन गर्नु भएको थियो । यस बीचमा उहाँ कम्युनिष्ट आन्दोलनका अथक योद्धा नेत्रलाल अभागीका निकट भएर क्रान्तिको क्षेत्रमा थप सक्रिय बन्नु भएको थियो ।

२०३४ सालमा मोहन विक्रमको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेपछि उहाँले पार्टीको आन्तरिक असन्तुष्टि देख्नु भयो र मोहन विक्रमको नेतृत्वबाट बिद्रोह गर्दै २०३४ सालको चैत ३० गते पार्टी छोड्नु भयो त्यसपछि उहाँले नेत्रलाल अभागीसँग मिलेर सन्देश समूह स्थापना गर्नु भयो । कालान्तरमा उहाँ नेकपा मालेमा आवद्ध भएर पञ्चायत बिरोधी अभियानलाई सार्थक बनाउन लागिरहनु भयो ।

किसानको अधिकारका लागि २०३६ सालमा दाङमा भएको आन्दोलनलाई सफल बनाउन भूमिका खेल्नु भएका शोभाराम बस्नेत कालान्तरमा किसानहरुको संघर्षबाट जन्मिएको पार्टी नेकपा (एमाले) को जिल्ला नेतृत्वमा रहेर काम गर्नु भयो । शोभारामसहित किसान आन्दोनका २३६ जना योद्धाहरुलाई डाँका मुद्दामा फसाइएको थियो ।

शोभाराम बस्नेतको राजनीतिक सक्रियता २०६२/६३ सालमा थप गहिरियो । उहाँ नेकपा (एमाले) को दाङ जिल्ला सचिव हुनु भयो र उहाँले २०६२/६३ को आन्दोलनमा नेतृत्व गर्नुभयो । यस आन्दोलनले जनताका हकका लागि संघर्षलाई अझ व्यापक बनायो र नेपालका समाजमा परिवर्तनको लहर ल्यायो ।

तथापि, शोभारामले कहिल्यै लाभको पदका लागि काम गर्नु भएन । २०५६/५७ सालमा जिल्ला विकास समितिको सदस्य बनेपछि उहाँले कुनै लाभको पद स्वीकार गर्नु भएन र लामो समयसम्म कम्युनिस्ट आन्दोलनका लागि समर्पित रहनु भयो । लामो समयको संघर्ष र समर्पणका बावजूद पनि उहाँ संसदमा पुग्न सक्नु भएन तर उहाँको योगदान र संघर्षलाई सधैँ सम्झना गरिन्छ ।

शोभाराम बस्नेतको जीवन परिवर्तनको साक्षी हो, जसले नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिक इतिहासमा आफ्नो भूमिका र गर्भिलो प्रभाव छोडेको छ । उहाँका संघर्ष, विचार र कार्यहरूले नेपाली समाजका विभिन्न पक्षहरूमा परिवर्तन ल्याए र उहाँको योगदानलाई नेपाली राजनीति र समाजमा सधैँ उच्च सम्मानका साथ सम्झिनेछ ।



प्रतिक्रिया दिनुहोस !