बाँकेमा जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी तीव्र : वैशाख २० गते कोहलपुर १ बाट सुरु हुने

दाङ । भूमि समस्या समाधान आयोग, जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकुम्बासीलाई लक्षित गर्दै जग्गाधनी प्रमाणपूर्जा वितरणको अन्तिम तयारी गरिरहेको छ ।
आयोगका जिल्ला अध्यक्ष घननाथ खनालका अनुसार वैशाख २० गतेदेखि कोहलपुर नगरपालिका–१ बाट पूर्जा वितरणको औपचारिक सुरुआत हुने निश्चित भएको छ।
नेपालगञ्जमा मङ्गलवार सम्पन्न सर्वदलीय बैठकले उक्त मिति र स्थानमा प्रमाणपूर्जा वितरण गर्ने निर्णय गरेको हो। अध्यक्ष खनालले जानकारी दिँदै भने, “प्रधानमन्त्री वा सम्बन्धित विभागीय मन्त्रीको उपस्थितिमा कार्यक्रम गरिनेछ भन्ने निर्णय सर्वदलीय सहमतिबाट भएको छ। तयारीका सबै पक्ष पूरा गरिसकेका छौँ र सरोकारवाला निकायलाई औपचारिक जानकारीसमेत गराइसकेका छौँ ।”
विगतका आयोगहरूको काम अधुरो र अपूरो रहँदा भूमिहीनहरूमा आशा र अन्योलको अवस्था थियो। तर यसपटक आयोगले पुराना अभिलेखहरूलाई समेत समेटेर व्यवस्थितरूपमा प्रक्रिया अघि बढाएको बताइएको छ। यसक्रममा कोहलपुर र बाँकेका नापी कार्यालयहरू तथा मालपोत कार्यालयहरूलाई आवश्यक समन्वयका लागि पत्राचार गरिसकिएको छ।
अध्यक्ष खनालका अनुसार, “पुराना अपूरा कामहरूको अभिलेख नवीकरण र समायोजनपछि प्रमाणपूर्जा वितरणलाई व्यवस्थित ढंगले अघि बढाउने रणनीति बनाइएको छ।”
भूमिहीन दलित र सुकुम्बासीको जीवनमा स्थायित्व र आत्मसम्मानको अनुभूति गराउने दिशामा यो कार्यक्रम महत्वपूर्ण हुने जनाइएको छ। आयोगले बाँके जिल्लालाई नमुना बनाउँदै अन्य जिल्लामा पनि प्रमाणपूर्जा वितरण कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ।