२४ बैशाख २०८२, बुधबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छाड्छौं-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  23 April, 2025 6:28 pm


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) को दिगो र प्रभावकारी सञ्चालन सुनिश्चित गरिने स्पष्ट अभिव्यक्ति दिएका छन् ।

बुधवार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनमा देखिएको अलमल अन्त्य गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् । “विमानस्थल जसरी पनि सञ्चालन गर्नैपर्छ, जुनसुकै हालतमा पनि गराएरै छाड्छौं,” उनले दृढताका साथ भने ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विमानस्थलको नेतृत्व लिन तयार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पूर्वाधार र संयन्त्र निर्माणमा संघीय सरकारसँग वार्ता र समन्वय जारी राखिने बताए ।

उनका अनुसार श्रमिकहरूको स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा प्रक्रिया जस्ता सेवाहरू विमानस्थलमै उपलब्ध गराउने संयन्त्रको अभावले अन्तर्राष्ट्रिय उडान सहज हुन सकेको छैन ।

“स्वास्थ्य परीक्षणको व्यवस्था भीम अस्पतालमार्फत निःशुल्क गराउने प्रस्ताव हामीले राखिसकेका छौं,” उनले जानकारी दिए, “अब आन्दोलन होइन, संवादमार्फत समाधान खोजिन्छ ।”

उनले सडकमा उत्रेर विरोध गर्नुको सट्टा संघीय सरकारसँग समन्वय र सहकार्यमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।

भैरहवास्थित जीबीआईएबाट प्रारम्भिक चरणमा चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान शुरु गरेका थिए तर यात्रुको न्यून संख्याका साथै मौसमी प्रतिकूलताले कारण देखाउँदै ती एयरलाइन्सले उडान स्थगित गरेका थिए। यसले विमानस्थल सञ्चालनमा गम्भीर चुनौती उत्पन्न गराएको छ ।

सरकारले विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक पहलहरू जारी राखेको बताउँदै मुख्यमन्त्री आचार्यले आगामी दिनमा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेशको समृद्धि र विकासको मुख्य ढोका मानिएको यो विमानस्थलको प्रभावकारी सञ्चालनले स्थानीय पर्यटन, व्यापार, रोजगार तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !