लुम्बिनीका तराई भेगमा तातो लहरको सम्भावना : सावधानी अपनाउन विशेषज्ञको सुझाव

दाङ । हाल देशभर स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तातो मौसमको चेतावनी जारी गरेको छ ।
विभागका अनुसार उच्च पहाडी तथा हिमाली भू–भाग बाहेक देशका अधिकांश भू–भागमा तापक्रम उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको छ।
विशेषगरी लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर (हिट वेभ) चल्ने सम्भावना औंल्याउँदै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।
त्यस्तै, मधेस प्रदेशलगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा पनि अत्यधिक गर्मीको सम्भावना रहेको छ ।
काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः बढ्दो छ। आजको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि हुन सक्नेछ।
आज राति पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा अत्यधिक गर्मीको सम्भावना यथावत् रहेको विभागले जनाएको छ ।
लुम्बिनीका दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया लगायतका जिल्लामा तातो लहरको असर अझ बढी हुने देखिएको छ ।
स्वास्थ्य विज्ञहरूले यस्तो गर्मीमा विशेष सतर्कता अपनाउन सुझाव दिएका छन् । उनीहरूका अनुसार अत्यधिक गर्मीमा बच्चा, वृद्धवृद्धा र बिरामीहरू बढी प्रभावित हुने भएकाले उनीहरूको विशेष हेरचाह गर्न आवश्यक हुन्छ ।
दिनको सबेरै वा साँझपख मात्र घरबाहिर निस्कन, पर्याप्त पानी पिउन, शरीरलाई चिसो राख्न, हल्का कपडा लगाउन र अत्यावश्यक काम बाहेक धुपमा लामो समय नबस्न अनुरोध गरिएको छ ।
तातो लहरको प्रभाव खेतीपातीमा पनि पर्न सक्ने भएकाले किसानहरूलाई बालीको स्याहार–सुसारमा सावधानी अपनाउन कृषि विज्ञहरूको समेत आग्रह छ।
सरकारी निकायहरूले तातो लहरका सम्भावित जोखिमलाई ध्यानमा राख्दै जनतालाई समयमै जानकारी दिन र आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन् ।