प्रधानमन्त्री ओलीको आह्वान-मिसन ०८४ मा ढुक्कसाथ लाग्नुस्, सरकारको चिन्ता नगर्नुस्

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई आगामी निर्वाचनलाई लक्ष्य बनाएर ‘मिसन ०८४’ मा एकाग्र हुन आग्रह गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) द्वारा आयोजित ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको वर्तमान सरकार स्थायित्वका लागि बनेको उल्लेख गर्दै चुनावमुखी अभियानमा जुट्नुपर्ने समय आएको स्पष्ट पारे ।
“सरकारको चिन्ता धेरै गर्न आवश्यक छैन । अहिलेको सरकार स्थिरता र स्यायित्वका लागि बनेको हो। नेकपा एमाले सधैं चुनाव केन्द्रित रहन्छ,” ओलीले भने ।
उनले २०७०, २०७४, २०७९ का चुनावमा एमालेले देखाएको प्रतिबद्धता र भूमिका स्मरण गराउँदै अबको लक्ष्य २०८४ को निर्वाचन रहेको प्रस्ट पारे ।
“म साथीहरुलाई आग्रह गर्न चाहन्छु-ढुक्कसाथ मिसन ०८४ मा लाग्नुस्। सरकार बनाउने र सरकार बचाउने एमालेको अहिलेको प्राथमिकता होइन। संसदको वर्तमान संरचना अनुसार देशलाई सही दिशामा लैजान एमाले कटिबद्ध छ,” उनले भने ।
ओलीले एमाले–कांग्रेसबीचको संयुक्त सरकार स्थायित्वका लागि बनेको दोहोर्याउँदै स्वदेशी तथा विदेशी केही तत्वहरुले मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोजिरहेको आरोप समेत लगाए । यस्तो परिस्थितिमा लोकतन्त्र र राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न एमाले प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी हजारौं युवा कार्यकर्ताले ओलीको आह्वानलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । अब एमालेको ‘मिसन ०८४’ आगामी निर्वाचनमा निर्णायक परिणाम ल्याउने रणनीतिका साथ अघि बढ्ने संकेत देखिएको छ।