३१ बैशाख २०८२, बुधबार

महासचिव पोखरेलको प्रष्ट सन्देश-एमाले शिक्षक विरोधी होइन, समृद्धिको नेतृत्व गर्ने पार्टी हो

प्रकाशित मिति :  24 April, 2025 6:39 pm



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमाथि लगाइँदै आएका आरोपहरू असत्य र नियोजित भएको प्रष्ट पार्दै एमाले शिक्षक तथा कर्मचारी विरोधी पार्टी नभएको दाबी गरेका छन् ।

उनले विगतमा कर्मचारी तथा शिक्षकका पक्षमा उल्लेखनीय काम एमाले नेतृत्वको सरकारले गरेको स्मरण गराउँदै यस्तो गलत प्रचारप्रति सतर्क रहन आह्वान गरे ।

काठमाडौँमा एमालेद्वारा आयोजित ‘युवा उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, “बहुदलीय व्यवस्थापछिको परिवर्तनपछि आठ पटकसम्म शिक्षक तथा कर्मचारीको सेवा सुविधा वृद्धि भएकोमा सात पटक एमाले नेतृत्वको सरकारबाट भएको हो । जसले सधैँ शिक्षक कर्मचारीका पक्षमा काम गरेको हो, उसलाई आज शिक्षक विरोधीको रूपमा बदनाम गर्न खोजिएको छ ।”

उनले शिक्षकमाथिको आन्दोलनप्रति पनि प्रतिक्रिया दिँदै अपप्रचारका कारण गलत सन्देश प्रवाहित हुन थालेको उल्लेख गरे । “सचेत रहनुस्, होशियार रहनुस्-जनताको पक्षमा काम गर्ने पार्टीलाई चिनेर भरोसा गर्नुस्,” महासचिव पोखरेलले जोड दिए ।

युवा–समृद्धिको सम्बन्ध र राष्ट्रिय जिम्मेवारी
पोखरेलले युवाहरुलाई समृद्ध नेपालको यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्दै तीन पुस्ताको योगदानलाई स्मरण गरे । “हाम्रा हजुरबाले राणा शासन अन्त्य गरे, बुबाले पञ्चायती निरंकुशताको अन्त्य गरे, हाम्रो पुस्ताले मुलुकलाई विकासको चरणमा ल्यायो, अब तपाईंहरूमाथि समृद्ध नेपाल निर्माणको जिम्मा आएको छ,” उनले भने ।

उनले वैशाख ११ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै त्यसलाई लाखौं युवाको भविष्य निर्माणको दिनको रूपमा व्याख्या गरे । “त्यो दिन नेपालले सामन्ती राजतन्त्रको अन्त्य गरी जनताको सार्वभौमसत्ताको युगमा प्रवेश गर्‍यो,” उनले भने ।

प्रतिगमनका विरुद्ध सचेत रहन आग्रह
महासचिव पोखरेलले देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने स्वदेशी तथा विदेशी प्रतिगामी तत्वहरूले जनतामा निराशा फैलाउने कार्य गरिरहेको आरोप पनि लगाए ।

“यी शक्तिहरूले विकासको बाटोमा अग्रसर पार्टीहरूलाई निशाना बनाइरहेका छन् । हामी युवाहरुलाई होस्टेमा हैँसे गर्दै त्यसलाई परास्त गरेर समृद्धिको बाटोमा अगाडि बढाउन चाहन्छौं,” उनको भनाइ थियो ।

एमालेको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माण
कार्यक्रमको अन्त्यमा पोखरेलले देशको समृद्धि, स्थायित्व र विकासको स्पष्ट खाका एमालेसँग रहेको दाबी गर्दै भने, “राष्ट्र निर्माणको गोरेटोमा हिँडिरहेका युवाले निराश नहुनुहोस्, जिम्मेवारी बोक्न तयार हुनुहोस्। विकासको सपना एमालेसाथ मात्रै साकार हुन्छ ।”



प्रतिक्रिया दिनुहोस !