२१ बैशाख २०८२, आइतबार

शिक्षक आन्दोलनकाबिच भीरकोटको भाग्योदय मावि पुनः सञ्चालन,पूर्व शिक्षक र विद्यार्थीको समन्वयमा पठनपाठन सुरू

प्रकाशित मिति :  25 April, 2025 10:28 am


काठमाडौँ । राजधानी केन्द्रित शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको नतिजा प्रकाशन, भर्ना अभियान र पठनपाठन ठप्प भएर विद्यार्थीहरूको सिकाइ प्रभावित भएको बेलामा स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ को भाग्योदय माध्यमिक विद्यालयमा पठनपाठन सुरू गरिएको छ।

नगरपालिकाको नमुना विद्यालयको रूपमा परिचित यो विद्यालयमा विद्यालय व्यवस्थापन समितिको सक्रियतामा पूर्व शिक्षक र पूर्व विद्यार्थीसँगको समन्वय गरी पठनपाठन सुरू गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले जानकारी दिए ।

समितिकै सक्रियतामा बुधबार विद्यालयले शैक्षिक सत्र २०८१ का नतिजाका आधारमा विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार विद्यालयका पूर्व प्रधानाध्यापक रेशम प्रसाद रेग्मी,पूर्व सहायक प्रधानाध्यापक हरि प्रसाद अर्याल , कालिका मावि पुतलीबजारका पूर्व प्रधानाध्यापक शिव प्रसाद रेग्मी,पूर्व शिक्षक तुलसी प्रसाद अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनाल, विव्यास सदस्य विश्वनाथ अर्याल लगायतले विद्यार्थीहरूलाई पढाएका थिए ।

बिहीबारदेखि पूर्व शिक्षक, पूर्व विद्यार्थी र विव्यासको सक्रियतामा पूर्ण रूपमा कक्षा संचालन हुने विद्यालय व्यवस्थापन समितिका सदस्य विश्वनाथ अर्यालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालले शिक्षक आन्दोलमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको पढ्न पाउने हक सुनिश्चित गर्न विद्यालय सुचारू गरिएको बताए ।आन्दोलन जति लामो भएपनि अब पठनपाठन नरोकिने उनले बताए ।

बुधबार प्रधानाध्यापक र शिक्षकहरू विद्यालयमा उपस्थित भएको भएपनि नतिजा प्रकाशन,पुरस्कार वितरण र शिक्षण सिकाइमा सहभागी नभएको पूर्व विद्यार्थी बिदुर कोइरालाले जानकारी दिए ।

स्याङ्जाका हरिनाश, बिरुवा गाउँपालिका र गल्याङ नगरपालिकाले सामुदायिक विद्यालय यथाशीघ्र संचालन गर्न निर्देशन दिएका छन्। हरिनाश गाउँपालिकाले पढाइ भएको दिनदेखि मात्रै तलब निकासा हुने भन्दै शिक्षकहरूलाई विद्यालय संचालन गर्न प्रधानमन्त्री केपी ओलीकै शैलीमा दबाब दिएको छ। भीरकोट नगरपालिकाले भने हालसम्म त्यस्तो सूचना वा निर्देशन जारी गरेको छैन।

-एनपी काेइराला



प्रतिक्रिया दिनुहोस !