२६ बैशाख २०८२, शुक्रबार

विकास र समृद्धिको यात्रामा अवरोध सिर्जना गर्न एमालेमाथि चौतर्फि घेराबन्दी : महासचिव पोखरेल

प्रकाशित मिति :  25 April, 2025 12:42 pm


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विकास र समृद्धिको यात्रामा अवरोध सिर्जना गर्न एमालेमाथि चौतर्फि घेराबन्दी सुरू भएको बताएका छन् ।

प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महसचिव पोखरेलले एमाले माथिको घेराबन्दी विकास र समृद्धिको यात्रालाई रोक लगाउनका लागि भएको दाबी गरे ।

“देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेको बेला हाम्रो पार्टी माथि घेराबन्दी सुरु भएका छन् । यो मुलुकलाई असफल बनाउनका लागि हो,” पोखरेलले भने, “हाम्रो नेतृत्वमा अघि बढेका रणनीतिक योजनालाई अवरुद्ध गर्ने मुख्य उद्देश्य प्रमाणित भइसकेका छन् । यसप्रति सञ्चारकर्मीको खबरदारी आवश्यक छ ।”

पञ्चायतकालमा ९ हजार किलोमिटरको हाराहारीमा रहेको सडक सञ्जाल हाल एक लाख १० हजार किलोमिटर पुगेको सन्दर्भ प्रस्तुत गर्दै उनले जनजीविकामा आएको परिवर्तनलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता औंल्याए।

नेपाल अब असमानताबाट समानतातर्फ अघि बढेको भन्दै उनले हाल गरिबी शून्य दशमलव ७ मा झरेको र उपभोगको असमानता घट्दै गएको बताए ।

‘मुलुकमा केही भएको छैन’ भन्ने प्रवृत्तिलाई सञ्चारको माध्यमबाट चुनौती दिनुपर्ने धारणा महासचिव पोखरेलले राखे ।सूचना भन्दा भ्रममा बाँच्नेहरूको मानसिकतालाई परिवर्तन गर्न सञ्चार क्षेत्रको भुमिका झनै महत्वपूर्ण रहेको भन्दै उनले समाजमा अस्थिरता फैलाउने तत्वहरूप्रति सचेत रहन सञ्चारमाध्यमलाई आह्वान गरे । “जीवन निर्वाहको प्रणाली परिवर्तन भइरहेको छ । जनजीवनमा सुधार आएको यथार्थलाई सञ्चारमाध्यमहरुले प्राथमिकतामा राख्नु पर्दछ”, महासचिव पोखरेलले भने ।

बैठकमा नेकपा (एमाले) का जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, फोनेजका अध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितलगायतले मन्तव्य राख्दै सञ्चारमाध्यमले समाजमा समानता, स्थिरता र समृद्धिको पक्षमा सार्थक हस्तक्षेप गर्नुपर्नेमा जोड दिए।

वक्ताहरुले सामूहिक प्रचारशैलीको आवश्यकतामाथि प्रकाश पार्दै व्यक्तिगत चर्चामा रुमल्लिँदा संगठनको सामर्थ्य कमजोर हुने भन्दै चौतारीका सदस्यहरूलाई सचेत गराएका थिए ।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको बैठकको सहजीकरण महासचिव हिरामान लामाले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !