स्याङ्जाको गल्याङबाट अवैध चिनी, भुजा र केराउसहित मिनि ट्रक पक्राउ

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ स्थित राम्दीमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध सामानसहितको मिनि ट्रक नियन्त्रणमा लिएको छ।
आज राति करिब १ः३० बजे अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु. २ ख. १९२१ नम्बरको मिनि ट्रक जाँच गर्ने क्रममा बिल नभएका चिनी, भुजा र केराउ फेला पारेको हो।
पक्राउ परेका ट्रक चालक २४ वर्षीय बसन्त परियार रुपन्देहीको सुद्योधन गाउँपालिका वडा नम्बर ३ का हुन् भने सहचालक पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ निवासी ४० वर्षीय सुमन विक र रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय दिप्सन सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
ट्रकबाट बरामद सामानमा बिल नभएको २१० बोरा चिनी (प्रति बोरा ५० केजी), ३९ बोरा भुजा (प्रति बोरा ५ केजी) र १८ बोरा केराउ (प्रति बोरा ३० केजी) रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको सामानसहित ट्रक, चालक र सहचालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए।