सरकारले बेवास्ता गरेर शिक्षकहरूको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरूलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् । उनले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरुको आवाज नसुनेर सरकारले आन्दोलन तुहाउन खोजेको आरोप लगाए ।
उनले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेगरी शिक्ष विधेयक ल्याउनुपर्ने बताए ।उनले विद्यार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त बनाउने गरी शिक्षक आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गरे । उनले शिक्षकहरू चर्को गर्मीको अलकत्रामा टाँसिएर आन्दोलित अवस्थामा हुँदा सरकार कानमा तेल हालेर बसेको अरोप लगाए ।
सांसद ज्वालाले सहकारी पीडित, मिटर ब्याजपीडित, चिकित्सकलगायतका आन्दोलनको घेराबन्दीमा सरकार रहेको बताए ।उनले जनताको पीडालाई दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिए ।