धनुषा विष सेवन घटना: तीन सन्तानपछि आमा पविताकुमारीको पनि मृत्यु

काठमाडाैँ । धनुषा जिल्ला शहीदनगर नगरपालिका–५, वासुदेवपट्टीमा भएको विष सेवन घटनामा उपचाररत आमा पविताकुमारी साहको पनि मृत्यु भएको छ ।
३० वर्षीया पविताकुमारी साहको आज बिहान पौने १० बजे जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले जानकारी दिए। पविताका तीन सन्तानको ज्यान गइसकेको छ ।
गत सोमवार साँझ आफ्नै घरमा पविता आफ्ना तीन सन्तानसहित अचेत अवस्थामा फेला परेकी थिइन् । सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैंले पनि सेवन गरेकी थिइन् ।
नौ महिनाकी गर्भवती रहेकी पविताको शल्यक्रिया गरी गर्भमा रहेका शिशुलाई निकालिएको थियो । हाल शिशुको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । विष सेवनको जानकारी पाउनासाथ पवितालाई अस्पताल पु¥याइएको थियो ।