संघीयता कार्यान्वयनसँगै विकास निर्माणकाे गति तीव्र बन्दै छ-मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता कार्यान्वयनसँगै विकास निर्माणको गति तीव्र भएको बताउँदै “दलले केही गरेनन्” भन्ने धारणा गलत भएको स्पष्ट पारेका छन् ।
शुक्रबार रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले २०७४ सालपछि स्थानीय, प्रदेश र संघीय सरकारहरूले संयोजन गर्दै विकास निर्माणमा उल्लेखनीय प्रगति गरेका उदाहरण प्रस्तुत गरेका हुन् ।
उनले कालीगण्डकी करिडोरजस्ता परियोजनाले रामपुर मात्र होइन, लुम्बिनी प्रदेशको भविष्य निर्माणमा टेवा पुर्याएको उल्लेख गर्दै रामपुर अस्पताल, रामपुर–कपुरकोट सडक, र रामपुरफाँट सिँचाइ आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
“फरक विचार र आस्था भए पनि विकासका लागि सबै दल एउटै सोचमा एकताबद्ध हुन जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “दलले केही गरेनन् भन्ने भाषा गलत हो, विगत र वर्तमानको तुलनात्मक विश्लेषण गर्न आवश्यक छ ।”
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले नेपाली कांग्रेस र एमालेको गठबन्धन स्थायित्वका लागि बनेको भन्दै “हल्लाको भरमा सरकार नढल्ने” दाबी गरे ।
त्यसैगरी, लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरको खानेपानी आपूर्तिलाई व्यवस्थित गर्न संघीय सरकारको सहलगानीमा ७ हजार धारासहितको आयोजना २०८२/८३ भित्र सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । उक्त परियोजनाको कुल लागत ६२ करोड ७६ लाख ८९ हजार १८४ रूपैयाँ रहेको छ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले हाल रामपुरमा भूमिगत पानी स्रोतमा आधारित खानेपानी वितरण भइरहेको जानकारी गराउँदै कालीगण्डकी डाइभर्सन परियोजनाले वातावरण तथा पानी स्रोतमा असर पार्ने भएकाले उक्त डाइभर्सनलाई जुनसुकै हालतमा रोक्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सरोकारवालाहरूले रामपुरको दिगो विकासका लागि सबै तहका सरकारबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड दिएका थिए ।