मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडाैँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताएका छन् ।
नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिस्थिति बदलिएपछि ऐन, कानून बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताएका हुन् ।
उनले राजा महेन्द्रको पालामा बनेका कानूनका कारण विकास हुन नसकेको जिकिर गरे । उनले आफूले शुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय (गृह वा भौतिक पूर्वाधार तथा यातायात) मागेको भएपनि प्रधानमन्त्रीको आग्रहा सञ्चार मन्त्रालयमा गएको बताए । उनले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरू हटाउने चाहना प्रकट गरे पनि यस पटक पूरा हुन नसकेको बताए ।
सञ्चारमन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेश गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताए। यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गरे ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको बताए ।आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताए ।उनले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताए । उनले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताए ।