सरकारले शिक्षकहरूसँग वार्ताको नाटक होइन सार्थक वार्ता गरोस्ः सांसद पाण्डे

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद पाण्डेले सरकारले शिक्षकहरूलाई अल्झाउनको लागि वार्ताको नाममा नाटक गरिरहेको आराेप लगाएका हुन् । शिक्षकहरूका माग सम्बोधन गर्न नाटक नभई सार्थक वार्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।
“हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी शिक्षकहरूले गरिरहेके आन्दोलनमा तत्काल सरकार वार्ता गरोस् । वार्ताको नाटक होइन सार्थक वार्ता गरोस् र समस्या समाधान गरोस् । शिक्षकहरूलाई मर्यादित बनाएर विद्यालय कर्मचारीका समस्याहरूलाई समेत समाधान गर्दै यो सडक आन्दोलनलाई तत्काल टुंग्याउने काममा ध्यान देओस्,” उनले भने ।
उनले अहिले प्रमुख राजनीतिक दलहरू सरकारमा भएको बेलामा शिक्षकहरूसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण शिक्षकका समस्याहरू पेचिलो हुँदै गएको बताए ।