कानूनी उल्झनहरू समाधान नगरी मेटालाई दर्ता हुन चेतावनी मात्र दिने काम लाजमर्दोः सांसद शाह

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले नेपालमा मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपको माउ कम्पनी) दर्ता हुनैपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो बताएका हुन् । पछिल्लो समय मेटा नेपाली जनताको सञ्चार, उद्यम र अभिव्यक्तिको आधार बनेको कारण नेपालमा दर्ता गराउनु अपरिहार्य रहेको उनकाे भनाइ छ ।
उनले मेटामात्र नभई सबै विदेशी कम्पनीहरूले नेपालको कानूनलाई पालना गर्नुपर्छ भन्ने कुरामा दुईमत नरहेको उल्लेख गरे । उनले कानूनमा भएका उल्झनहरुलाई समाधान नगरी मेटालाई निरन्तर चेतावनी मात्र दिनु समेत लाजमर्दो विषय भएको बताए । उनले मेटाले अन्य देशमा दर्ता हुँदा नेपालमा किन तर्किरहेको छ ? भन्दै प्रश्न समेत गरे ।
उनले मेटासँगको वार्ता केवल कम्पनीसँगको वार्ता मात्र नभई नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय समुदायलाई दिने सन्देश समेत भएकोले सरकारले कुटनीतिक कौशलता प्रस्तुत गर्न जरुरी रहेको बताए ।