२१ बैशाख २०८२, आइतबार

प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?

प्रकाशित मिति :  27 April, 2025 2:32 pm


काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिएका छन्।

मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताएका हुन् ।

देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए ।

“झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ ।’’, प्रधानमन्त्री ओलीले भने, “आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूकाे वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको टिप्पणी गरे ।

पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुुझाव दिए । “पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !