नेपालमै निर्णय गर्ने सामर्थ्य विकास गर्न जरुरी छः महासचिव चन्द

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको राजनीतिक आन्दोलनमा नेपालमै निर्णय गर्नसक्ने सामर्थ्य विकास गर्नु आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले देशको राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमति बन्न नसकेको र अझै पनि विदेशी प्रभाव कायम रहेको गुनासो गरे। उनले शासक बन्ने चाहना सबैमा देखिए पनि नागरिकलाई सुख र शान्ति दिने योजनाको अभाव रहेको टिप्पणी गरे।
महासचिव चन्दले सरकारले थाइल्याण्डमा बसेर आफ्नो विषयमा निर्णय गर्नु लज्जास्पद भएको उल्लेख गरे। उनले नेपालमा स्थायित्वको अभाव भए पनि स्थायित्व निर्माणको आधार तय गर्न राष्ट्रिय सहमति बन्न नसकेको बताए। “नेपालमै निर्णय गर्न सक्ने र नेपालकै व्यवस्थाको बारेमा आफैं निर्णय लिन सक्ने शक्ति राजनीतिक आन्दोलनमा जरुरी छ,” उनले भने।
उनले नेपाली समाजलाई अन्तरघुलित समाज भन्दै केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए। बहुदलीय प्रणाली र संविधान निर्माणमा विदेशीहरूको नक्कल गरिएको भन्दै उनले आलोचना गरे। “हाम्रो संविधान लेख्दा पनि भारत र बेलायतको संविधान सार्ने, नेपाली समाजको मौलिकता बिर्सने काम भयो,” उनले भने।
चन्दले अहिले देशमा १ सय २० भन्दा बढी पार्टी दर्ता भए पनि आपसी समर्थनको भावना नभएकाले अस्थिरता बढेको बताए। शासक बन्ने चाहना भए पनि सुव्यवस्थित अवधारणा नहुनु अलगावको मुख्य कारण भएको उनको भनाइ थियो।
प्रहरी र सेना लगायतका निकायमा पनि एउटा निश्चित तहपछि विदेशी दूतावास धाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाभिमान कमजोर भएको बताए।
महासचिव चन्दले नेपालमा नयाँ बहस र राष्ट्रिय पुनर्जागरणको आवश्यकता रहेको बताए। अर्काको टेको बिना बाँच्न सकिन्न भन्ने मानसिकता परिवर्तन गर्न नेताहरूलाई आह्वान गरे। संघीयता मात्रै पर्याप्त नभई एकीकृत राष्ट्रियता निर्माण गर्नुपर्नेमा उनले जोड दिए। नेपालको अवस्था खेतमा मुसाले प्वाल पारेझैं बनेको टिप्पणी गर्दै चन्दले संस्कृति नै मासिँदै गएको बताए। बालुवाटार र सिंहदरबारमा नभई जनताको झुपडीमा बसेर नेतृत्व गर्ने आफ्नो चाहना रहेको पनि उनले स्पष्ट पारे।