आन्दोलनरत शिक्षकहरूको माग तत्काल पूरा गरियोस्ः नारायणकाजी श्रेष्ठ

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले २६ दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेको बताउँदै उनीहरूका माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
उनले शिक्षकहरूलाई पठनपाठनको लागि छिटै पठाउने व्यवस्था गर्न समेत सरकारसमक्ष आग्रह गरे । श्रेष्ठले शिक्षकहरूका माग सम्बोधनका लागि सरकारले वार्ता नगरी प्रधानमन्त्रीले नै शिक्षकहरूप्रति व्यङ्ग्य गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले शिक्षकहरूले विगतमा भएको सम्झौता कार्यान्वयन र विधेयक पारित भई ऐन बनोस् भन्ने माग राखेको भन्दै सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
उनले यसअघि आफू सरकारमा हुँदा शिक्षकहरूसँग वार्ता गरी सम्झौता गरेको स्मरण गर्दै विधेयकलाई अगाडी बढाउने क्रममा सरकारबाट बाहिरिनुपरेको बताए । उनले देशको अहिलेको परिस्थिति गम्भीर, संवेदनशील र चुनौतीको डिलमा रहेको बताउँदै यसलाई अन्देखा गर्न नहुने बताए ।