पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु

दाङ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका पाँच जनालाई तत्कालै उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको थियो। उपचारका क्रममा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका छन्।
मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वरका ३६ वर्षीय दीपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २७ वर्षीय जिप चालक रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।