माैसम अपडेट : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।