पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजाे राति सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सर्वोत्तम सिमेन्टको खानी नजिकै लु १ ज २३७७ नम्बरको जीप सडकबाट १५० मिटर तल खसेको हो ।
दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
उकालोमा ब्रेक फेल हुँदा दुर्घटनामा परेको आशंका प्रहरीले गरेको छ भने घटनाको बारेमा थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।