स्याङ्जाकाे कालीगण्डकीमा आगलागी हुँदा तीन लाखको क्षति

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ गोगुङ्गामा आगलागी हुँदा एक गोठ पूर्णरूपमा जली नष्ट भएको छ भने गोठमा रहेका एक भैँसी र तीन बाख्राको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीका अनसार आज राति करिब ३ बजे केशर सिंह रानाको ढुङ्गा–माटोले बनेको खरको छानो भएको दुईतले कच्ची गोठमा अचानक आगलागी भएको हो। आगलागीका कारण गोठ पूर्णरूपमा नष्ट हुनुका साथै गोठभित्र रहेका एक भैँसी र तीन बाख्रा जलेर मरेका छन्।
सोही आगलागीका कारण गोठबाट करिब दुई किलोमिटर टाढा रहेको मिनकला थापा मगरको जस्ताको छानो भएको तीनतले कच्ची घरको दोस्रो तलाको झ्यालमा समेत आगो सल्किएको प्रहरीले जनाएको छ। आगोले उनको घरको एक काठको झ्याल र छानोमा समेत क्षति पुर्याएको छ। यद्यपि, मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरी निरीक्षक तिवारीका अनुसार आगो बिहान करिब ५ बजे पूर्णरूपमा नियन्त्रणमा आएको हो। आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।