२९ बैशाख २०८२, सोमबार

अध्यक्ष लिङदेन भनेः आग्रह\पूर्वाग्रहहरू त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं

प्रकाशित मिति :  28 April, 2025 4:37 pm


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक  वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताएका हुन् ।

उनले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाए ।उनले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राखे ।

सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको बताउँदै उनले दाबी गरे । अध्यक्ष लिङ्देनले आग्रह÷पूर्वाग्रहहरू त्यागेर एक ठाउँमा बसी देशलाई निकास अगाडी बढ्न आह्वान गर्दै राप्रपा सदैव तयार रहेको जिकिर गरे ।

अध्यक्ष लिङदेनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजी खोजी पक्राउ गरिएको भन्दै आपत्ति जनाए । उनले गत चैत १५ गते लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको भन्दै आफूहरू ठिक ढङ्गले चल्न नसक्दा सबै प्रकारका अन्याय र निरङ्कुशताहरू सहन बाध्य भएको बताए ।

उनले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गर्नुभयो । – न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !