नीति तथा कार्यक्रम वैशाख १९ मा आउँदै

काठमाडौँ । सरकार आगामी आर्थिक वर्ष ०८२/८३ का लागि नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिद्वारा वाचन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।
संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने प्रावधान छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि जानकारी दिँदै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।
सरकारले यस पटक बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल नगरिकन सिधै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । संसदमा नीति तथा कार्यक्रम वैशाख २२ देखि छलफल हुने छ ।
संघीय संसद्का दुवै सदनमा छुट्टाछुट्टै छलफल हुनेछ । करिब एक साता छलफलपछि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते दिने कार्यक्रम छ । सोही दिन बजेट सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ भने वैशाख ३० देखि त्यसबारे छलफल सुरु हुनेछ ।
शिक्षक आन्दोलनमा प्रगति
सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकारात्मक बनेको छ । सञ्चारमन्त्री गुरुङले शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघका नेताहरूसँग गरेको छलफलबाट सकारात्मक संकेत आएको बताए ।
उनका अनुसार पर्सिसम्ममा सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको छ। सरकारका तीन मन्त्री- अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग मिलेर शिक्षक महासंघका नेताहरूसँग छलफलमा सहभागी भएका थिए ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा करिब तीन घण्टा छलफलपछि ती मन्त्रीहरू मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार गएका थिए ।