एलओडीका निर्देशक कुँवरले भनेः कर्मचारीको मेहनतले क्लबलाई विश्वस्तरमा पुर्यायो

काठमाडौँ । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले क्लबको सफलता पछाडि कर्मचारीहरूको निरन्तरको मेहनतको ठूलो भूमिका रहेको बताएका छन्। सोमबार साँझ ठमेलस्थित एलओडी क्लबमा आयोजित उत्सव कार्यक्रममा बोल्दै उनले एलओडी क्लब विश्वकै उत्कृष्ट ४४औँ क्लबको सूचीमा पर्न सफल हुनुमा कर्मचारीको योगदान उल्लेखनीय रहेको बताए।
“यो क्लबको मेरुदण्ड भनेकै कर्मचारीहरू हुन्। उहाँहरू नभएको भए हामी आज यहाँसम्म आइपुग्न सक्ने थिइनौं,” कुँवरले भने। उनका अनुसार क्लबमा हाल एक सय ५० भन्दा बढी कर्मचारी कार्यरत छन्।
क्लबले स्थापना भएको ६ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा कुँवरले एलओडीले आतिथ्य संस्कृतिलाई विशेष प्राथमिकता दिएको जनाए। “हाम्रो पहिलो प्राथमिकता भनेको यहाँ एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउनु हो,” उनले भने, “यहाँ आउने सबै पाहुनालाई एक नजरले हेर्छौं, सम्मानका साथ विदा गर्छौं।”
रात्रीकालीन व्यवसायप्रति समाजमा अझै नकारात्मक धारणा रहेको उल्लेख गर्दै कुँवरले एलओडी क्लबले त्यो धारणा चिर्ने प्रयास गर्दै आएको बताए। “समाजमा क्लब जानु भनेको बिग्रिएको संकेत मानिन्छ, तर एलओडीले परिवारसहित पनि क्लब आउन सकिने संस्कृति सुरु गरेको छ,” उनले भने।
कुँवरले क्लबमा आउने पाहुनाको सुरक्षा र सम्मानलाई प्राथमिकता दिइएको भन्दै एलओडी अहिले देशी तथा विदेशी पर्यटकहरूको पहिलो रोजाइमा पर्न थालेको बताए। “आज काठमाडौँ आउने पर्यटकहरूको सूचीमा एलओडी शीर्ष प्राथमिकतामा पर्छ,” उनले भने, “यो देशकै लागि गौरवको कुरा हो।”
उनले क्लबले राज्यप्रति गर्नुपर्ने सबै दायित्व पूरा गरेको र समाजसँग टाढा नभएको पनि स्पष्ट पारे। संविधानलाई सधैं शिरोधार्य गरेको बताउँदै कुँवरले क्लबलाई अझ आकर्षक बनाउन नयाँ सजावट, सिट व्यवस्थापन, लाइटिङ र म्युजिक सिस्टममा सुधार ल्याउने योजना रहेको जानकारी दिए।