२७ बैशाख २०८२, शनिबार

लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन्:मन्त्री पाण्डे

प्रकाशित मिति :  29 April, 2025 4:22 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन्।

मंगलबार राजधानीमा आयोजित तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लेखन लोकतान्त्रिक अभ्यास भएको स्पष्ट पारेका हुन् ।

“लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन,” मन्त्री पाण्डेले भने, “लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन्।” उनले पूर्वप्रधानमन्त्री वि।पि। कोइरालाको भनाइ उद्धृत गर्दै, राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी भन्नुको आशय लोकतन्त्रमा लेखकलाई नियन्त्रण गर्न नहुने सन्देश भएको बताए।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हालको समयमा समाजमा निराशा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। यस्ता परिस्थितिमा आशा र सकारात्मक सन्देश दिन लेखकहरूको भूमिकाको खाँचो रहेको उनले औंल्याए।

साथै, पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको उल्लेख गर्दै उनले राजनीतिमा समेत पारदर्शिता र स्वच्छताको खोजी हुने वातावरण बनिरहेको धारणा राखे।

कार्यक्रममा वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो। साथै वैरागी काइलाससहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको आयोजक संस्था साहित्यिक पत्रकार समूहले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !