५ आश्विन २०८१, शनिबार

रोल्पामा वडा अध्यक्षद्धारा राहत माग्नेमाथी मुक्का र खुकरी प्रहार,पीडितद्धारा प्रहरीमा उजुरी

प्रकाशित मिति :  11 June, 2020 8:31 pm


रोल्पा,२९ जेठ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नेपबहादुर थापाले राहतको माग गर्ने स्थानीयमाथी मुक्का र खुकरी प्रहार गरेर घाईते बनाएको आरोप लागेको छ । हिजो साँझ स्थानीय गुरुप्रसाद थापालाई वडा अध्यक्षले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

वडा अध्यक्ष थापा विरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित थापाले आज उजुरी दिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

लकडाउनका कारण जीविका चलाउन समस्या परेपछि स्थानीय मानसिङ थापाले वडा कार्यालयबाट राहत पाउनु पर्ने माग गरेका थिए । राहत मागेपछि भएको विवादमा वडाध्यक्ष थापाले मुक्का प्रहार गर्न शुरु गरेको र छुट्टाउन जाँदा आफू माथि पनि खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले बताएका छन् ।

घुँडामा गहिरो चोट लागेका थापाको होलेरी स्थित सञ्जीवनी मेडिको सेन्टरमा उपचार भइरहेको छ । कुटपिट गरिसकेपछि वडाध्यक्ष थापाले मोबाइल फोन समेत जफत गर्दै मिलापत्र नगरे उपचार गर्न जान नदिने भन्दै धम्क्याएका थिए ।

वडा अध्यक्ष थापाले पन्ध्र हजार रुपैयाँ दिएर जबर्जस्ती मिलापत्रमा हस्ताक्षर गराएको पीडित थापाले बताएका छन् । जर्बजस्ति मिलापत्र गरेको गुनासो गर्दै घाईते थापाले प्रहरीमा उजुरी दिएका हुन् ।

वडाध्यक्ष नेपबहादुर थापाले भने आफू माथि आक्रमण गर्न खोजेपछि झडप भएको र खुकुरी प्रहार नगरेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !