५ आश्विन २०८१, शनिबार

मधेशीले राष्ट्रवादी देखिन कति अग्नि परीक्षा दिने हो ? : नेता महतो

प्रकाशित मिति :  13 June, 2020 3:34 pm


काठमाडौं,३१ जेठ । 

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

उनले मधेशीलाई राष्ट्रवादी नदेख्ने समस्या रहेको बताए । उनले मधेशीले राष्ट्रवादी देखिनका लागि कति अग्नि परीक्षा दिनुपर्ने हो भन्दै प्रश्न गरे । उनले भने,‘ कति परीक्षा लिनुहुन्छ तपाईहरु ? मधेशीले राष्ट्रवादी देखिन कति अग्नि परीक्षा दिने हो ? कति परीक्षा लिनुहुन्छ तपाईहरु ?’

संविधानमा आफूहरुको असहमति कायम राखेपनि आजको दिनमा ऐतिहासिक रहेको र संविधान संसोधनमा पूर्ण रुपमा समर्थन गर्ने बताए । उनले भने,‘अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ । यो संविधान सबै वर्ग र समुदायको हुन सकेको छैन तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ । अबका दिनमा विगतमा हामीसँग भएका सम्झौताअनुसार संविधान संशोधनका प्रस्ताव आएको भएको राम्रो हुन्थ्यो ।’

नक्शा जारी गरेर मात्रै नहुँने भन्दै कूटनीतिक वार्ता गरेर हाम्रो भूमि फिर्ता ल्याउनुपर्नेमा नेता महतोको जोड थियो । उनले एकलौटी राष्ट्रियता पङ्गु राष्ट्रियताभन्दै अब हामी भूमि र जनताको पहिचानसहितको राष्ट्रियताको नयाँ परिभाषामा जान प्रस्ताव गरे ।

नेता महतोले आफूहरुका असन्तुष्टिका बीच देशको सवालमा एक ठाउँमा उभिनुपर्ने भएकाले नक्शा संशोधनको विधेयकलाई सहर्ष समर्थनको घोषणा गरे ।  सङ्घीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई हालै जनसमाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।



प्रतिक्रिया दिनुहोस !