संविधान संसोधन विधेयक राष्ट्रिय सभामा सर्वसम्मतिले स्वीकृत
काठमाडाै, जेठ ३२ ।
राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत गरेकी थिईन् ।
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल उठेका जिज्ञासामा उनले विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै ‘नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताका सवालमा एक हुन्छन्’ भन्ने पुष्टि भएको उल्लेख गरेकी छिन् ।
संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएको र यसमा छिमेकीले टिप्पणी नगर्दा राम्रो हुने बताईन् । उनले भनिन्“भारतसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौँ”, उनले अद्यावधिक नेपालको नक्साअनुसार संविधानको अनुसूची–३ सच्याउने अभिप्रायले ल्याइएको संविधानको दोस्रो संशोधनलाई समर्थन गरिदिन आग्रह गरिन् ।
यस अघि सो प्रस्ताव माथिको छलफलमा नेपाली काँग्रेसका प्रकाश पन्थले नयाँ नक्सा जारी भएपछि अब भूमि फिर्ता ल्याउन पहल गर्न आवश्यक रहेको बताएका थिए ।
नेकपाका सुमनराज प्याकुरेल, नेकपाका मायाप्रसाद शर्मा र गोपीबहादुर सार्की अछामीले अब गुमेको भूमि फिर्ता ल्याउन एकजुट हुन आग्रह गरेका थिए ।
नेपाली काँग्रेसका तारादेवी भट्टले सिमानामा बस्ने नेपालीले धेरै दुःख पाएका उल्लेख गर्दै पूर्वदेखि पश्चिमसम्मको मिचिएको भूमि फिर्ता ल्याएर आफ्नो तारबार गर्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक सोमबार ११ बजे बस्छ ।