४ आश्विन २०८१, शुक्रबार

स्थानीय तहसंगको समन्वय,सहकार्य र वित्तीय हत्तान्तरणका लागि प्रदेश-५ सरकारद्धारा ५ अर्ब १४ करोड रुपैयाँ विनियोजन

प्रकाशित मिति :  15 June, 2020 5:50 pm


रुपन्देही,१ असार ।

स्थानीय तहसंगको समन्वय,सहकार्य र वित्तीय हत्तान्तरणका लागि प्रदेश-५ सरकारले ५ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो रकम आर्थिक वर्षभन्दा १७ प्रतिशतले बढी हो ।

प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोख्रेलले यसमा विषयगत मन्त्रालयहरुले स्थानीय तह मार्फत कार्यान्वयन हुने गरी प्रस्तावित रकम १ अर्ब ४ करोड ५० हजार रुपैयाँ समावेश भएको जानकारी गराए ।

मुख्यमन्त्री पोख्रेलले नेपाल सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने रकममा कमी आएको भएपनि जनताको नजिकको सरकारलाई स्रोत साधान सम्पन्न बनाउन रकममा बृद्धी गरिएको बताए ।

विनियोजित बजेटमा स्थानीय तहको शिक्षा,स्वास्थ्य खानेपानीजस्ता क्षेत्रहरुको विकासका लागि मानव विकास सूचकाङ्क,पूर्वाधार, विकासको अवस्था,खर्चको आवश्यकता,राजश्व क्षमता तथा स्थानीय तहहरुमा रहेको आर्थिक सामाजिक एवं अन्य विभेदसमेतका आधारमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन ६० करोड रुपैयाँ विनियोजन गरिएको मुख्यमन्त्री पोख्रेलको भनाई छ ।

त्यस्तै प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेको प्रथामिकताका योजनाहरु कार्यान्वयनका लागि पदेश सरकारको तर्फबाट स्थानीय तहहरु मार्फत कार्यान्वयन हुने गरी सशर्त अनुदान उपलब्ध गराउन २ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा स्थानीय तहले पहिचान गरी सिफारिस गरेका आयोजना तथा कार्यक्रमहरु लागत सहभागिता स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी समपूरक अनुदान उपलब्ध गराउन १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट ३ अर्ब रुपैयाँ बराबरका योजनाहरु कार्यान्वयन हुने मुख्यमन्त्री पोख्रेलले विश्वास व्यक्ति गरे ।

विशेष अनुदानबाट चालु आर्थिक वर्षमा ७३ वटा गाँउपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाई प्रदेशका १ सय १२ स्थानीय तहमा विस्तार गर्दै १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश ५ सरकारद्धारा ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक



प्रतिक्रिया दिनुहोस !