४ आश्विन २०८१, शुक्रबार

अदालतको आदेश विपरित विप्लव नेतृत्व नेकपा केन्द्रीय सदस्य विरही अझै प्रहरी नियन्त्रणमा !

प्रकाशित मिति :  16 June, 2020 6:56 pm


चितवनको एक अस्पतालमा उपचाररत विप्लव नेतृत्व नेकपा केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ । फोटो : पत्रकार डुम्रेको फेसबुकबाट

काठमाडौं,२ असार ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख अनिल शर्मा विरहीलाई अदालतले छोड्न आदेश दिएपनि उनलाई प्रहरीले नियन्त्रणमै राखेको खुलेको छ ।

गम्भीर घाइते भई उपचारको शिलशिलामा चितवनको एक अस्पतालमा रहेका शर्मालाई अहिलेपनि हतियारधारी प्रहरीले नछोडेको पत्रकार प्रकाश डुम्रेले जनाएका छन् । उपचारमा भेटघाटका लागि पुगेका डुम्रेले शर्मालाई भेटेपछि फेसबुकमा लेखेका छन्,‘अदालतले छाड्ने आदेश दिएपनि नेता बिरही अहिलेपनि चितवनको एक हस्पिटलमा प्रहरी नियन्त्रणमा उपचारको क्रममा छन् । हस्पिटलमा बेडको छेउमा हतियार सहित प्रहरी तैनाथ गरिएको छ । अदालतले निर्दोष सावित गरि छाड्ने आदेश दिएको अवस्थामा समेत राजनीतिक कार्यकर्ता एवम् लेखकलाई एउटा क्रुर अपराधीलाई जस्तो व्यवहार गर्नु गणतान्त्रिक मुलुकमा अशोभनीय बिषय हो ।’

नेता विरहीलाई प्रहरीले अस्पतालबाटै बैशाख २३ गते पक्राउ गरेको थियो । उनलाई पक्रापछि राजद्रोहको मुद्दा लगाईएको थियो ।

विप्लव नेतृत्व नेकपा निकटका पत्रकार डुम्रेले भनेका छन्,‘मेरुदण्डमा गम्भीर समस्या देखिई उपचारको क्रममा रहेका विरहीलाई अस्पतालको वेडबाटै स्टेचरमा सुताएर म्याद थप गर्न अदालत लगियो,अन्तिममा अदालतले राजद्रोहको मुद्दा प्रमाणित नहुने भन्दै राजनीतिक प्रतिशोधले कसैलाई नियन्त्रणमा लिन नपाईने भनी छाड्ने आदेश देश दियो ।तर राजनीतिक हिसाबले फरक मत राख्दैमा यो दर्जाको प्रतिशोध गर्नु राज्यको गम्भीर अपराध हो ।’

शर्मालाई आरोप प्रमाणित नभएको भन्दै रिहा गर्न आदेश दिएको थियो । डुम्रेले अस्पताल पुगेर स्वास्थ अवस्था लगायतको बिषयमा छलफल गर्नुका साथै नागरिकको न्यूनतम मानवअधिकारको ख्याल गर्न मानवअधिकार आयोग लगायत सरोकारवाला निकायलाई अनुरोध गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !