४ आश्विन २०८१, शुक्रबार

सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको बयान सकियो, साेमबार थुनछेक बहस

प्रकाशित मिति :  18 June, 2020 7:23 pm


काठमाडाैं, ४ असार । 

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो ।

पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए ।

अभियोग लागेका प्रतिवादीले आफ्नो बयान राखिसकेकाले शुक्रबारदेखि अदालतमा छुनछेक बहस शुरु हुनेछ । जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक गरी ६ युवाको ज्यान जाने गरी गत जेठ १० गते भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका पाँच जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका एक जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ । घटनामा संलग्न भएको आरोपमा मुद्दा लागेका दुई नाबालकलाई भने अदालतले सोमबार मुद्दा पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश दिएको थियो ।

उक्त आदेशानुसार प्रहरीले केटालाई नेपालगञ्ज र केटीलाई भक्तपुरको बालसुधारगृहमा पठाएको छ । प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमवहादुर बुढा फरार छन् ।



प्रतिक्रिया दिनुहोस !