४ आश्विन २०८१, शुक्रबार

गाँउपालिकाद्धारा घोराही सिमेन्ट उद्योगका टिप्पर सञ्चालनमा रोक,चालकलाई क्वारेन्टाईनमा पठाईयो

प्रकाशित मिति :  19 June, 2020 8:26 pm


दाङ, ५ असार ।

दाङको बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिप्पर सञ्चालनमा रोक लगाएको छ ।

कोरोना भाइरसका कारण बंगलाचुली गाँउपालिका पनि मारमा परेको र टिप्परहरु सञ्चालन भएपछि थप संक्रमण बढ्न सक्ने भन्दै रोक लगाएको गाँउपालिकाले जनाएको छ ।

लकडाउनका कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिकासंग कुनै सम्पर्क सहमति बिनै शुक्रबार सयौं टिप्परहरु गाउँपालिमा पठाएको थियो । त्यस लगतै आफूहरुलाई स्वाथ्यमा चुनौति थपिने भन्दै स्थानीयले सडकमा आएर टिप्परहरु रोक्दै विरोध जनाएका थिए ।

बंगलाचुली गाउँपालिकाले पनि यसप्रकारको कार्यले स्थानीय जनतामा मानसिक तथा मनोबैज्ञानिक असर पर्ने भन्दै टिप्पर सञ्चालनमा रोक लगाएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आज विज्ञप्ती जारी गर्दै घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिकासंग कुनै पनि प्रकारको सम्पर्क समन्वय नै नगरी उद्योगको चुनढुङ्गा ढुवानी गर्न एकाएक सयौँ टिप्पर बंगलाचुली प्रवेश गराएको भन्दै आपत्ति जनाएका     छन् ।

विज्ञप्तिमा भनिएको छ,‘नागरिकहरु बसेको ४०र५० मिटरको दुरिबाट एकै पटक सयौँ टिप्परहरु गुडाउँदा स्थानीय र क्वारेन्टाइनमा बसेका जनसमुदायको मानसपटलमा नकारात्मक तथा मनोबैज्ञानिक असर पर्ने हुँदा यस कार्यलाई पुर्णरुपमा बन्द गर्न समेत हामी अनुरोध गर्दछौँ ।साथै बंगलाचुली गाउँपालिकाको अर्को निर्णय नहुँदा सम्मका लागि उद्योगका कुनैपनि टिप्परहरुले चुनढुङ्गा ढुवानी गर्न पुर्णरुपमा रोकलगाईएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँद छौँ ।’

बंगलाचुली गाउँपालिकासंग कुनै सहमति बिनै गाउँपालिका प्रवेश गरेका दर्जनौ टिप्पर तथा टिप्पर चालकहरुलाई बंगलाचुली गाउँपालिकाको क्वारेन्टाईनमा पठाईएको छ । चालकहरुलाई १४ दिनसम्म बंगलाचुली गाउँपालिकाको क्वारेन्टाईनमा बसालिने गाँउपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !