४ आश्विन २०८१, शुक्रबार

बैदेशिक रोजगारी खोल्ने सरकारको निर्णय,स्थानीय तहलाई ३५ करोड रुपैयाँ पठाउने

प्रकाशित मिति :  19 June, 2020 8:45 pm


काठमाडौं, ५ असार ।

पछिल्लो समय लकडाउन खुकुलो बनाउँदै लगेको सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विदामा आएका तथा नयाँलाई पनि रोजगारीमा जाने दिने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा बैदेशिक रोजगारीमा जान दिने निर्णय गरिएको जानकारी दिए ।

विद्यार्थीहरुलाई पनि जान दिने निर्णय भएको छ । विद्यार्थीहरुको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको   सिफारिस आवश्यक पर्ने छ । बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने निर्देशिका बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिनुका साथै विदेशबाट ल्याइएका शव व्यवस्थापनको जिम्मा पनि दिइएको छ ।

बैठकले देशभरका क्वारेन्टाईन स्थल सुधार गर्ने र क्वारेन्टाईनमा रहेका बसेका व्यक्तिको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसका लागि सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

संक्रमणको जोखिममा रहेका फरक क्षमता भएका, बालबालिका, वृद्धहरुको उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको ज्ञवालीले बताए।

सरकारले स्थानीय तहमा आइसोलेसन र क्वारेनटाईन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ।  सिसिएमसी बैठकले प्रदेश सरकार मार्फत स्थानीय तहहरुलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कोरोना संक्रमण बढ्दै गएकाले थप क्वारेन्टाईन र आइसोलेसन निर्माण गर्नुपर्ने भएकाले केन्द्रीय कोभिड-१९ कोषबाट ३५ करोड रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !