४ आश्विन २०८१, शुक्रबार

नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने पक्षमा उभिने नेकपाको निर्णय

प्रकाशित मिति :  20 June, 2020 1:44 pm


काठमाडौं, ६ असार ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिहे गरेर नेपाल आउने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्नेमा सहमति भएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नागरिकता ऐन संसोधन विधेयक वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय भएको जानकारी दिए ।

उनले भने,‘ नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा रहेको आफ्नो नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।’

यद्धपी सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार हुनेगरी आवासीय परिचयपत्र प्रदान गर्ने प्रावधान कायमै रहने सचिवालयको निर्णय छ ।

विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको मागलाई पनि सचिवालय बैठकले अस्वीकृत गरेको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु असहमत छन् ।

नागरिकता ऐन संसोधन विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि छलफलमा छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अंगीकृत नागरिकताबारे विवाद थियो ।

तर, सत्तारुढ नेकपाले औपचारिक धारणा बनाएपछि यो विषय अगाडी बढ्ने भएको छ । हिजो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिमा रहेका पार्टी सांसदहरुसँग छलफल गरेपछि सचिवालयको बैठक बोलाइएको  थियो ।



प्रतिक्रिया दिनुहोस !