४ आश्विन २०८१, शुक्रबार

गोर्खा भर्तीकेन्द्र खारेज गर्न र गोर्खाली सेनालाई चीनको सीमामा नपठाउन विप्लवको आग्रह

प्रकाशित मिति :  20 June, 2020 2:40 pm


????????????????????????????????????

काठमाडौं, ६ असार ।

चीन र भारतबीच सीमा विवाद बढिरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अङ्ग्रेज साम्राज्यवादकालीन गोर्खा भर्ती केन्द्र खारेजीको माग गरेको छ ।

पार्टी महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको टिप्पणी गर्दै गोर्खा भर्तीकेन्द्र खारेज गर्न र नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन आग्रह गरेका हुन् ।

महासचिव विप्लवले दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महासचिव विप्लवले भनेका छन्,‘गोर्खा रेजिमेन्टलाई सिमानामा पठाउने तयारी देखिन्छ तर दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन ।

यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि छ । दुई समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ ।’

गोर्खा भर्ती केन्द्रलाई भन्दै यसलाई यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न महासचिव विप्लवको माग छ । साथै उनले उनले नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् । उनले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिलसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !