४ आश्विन २०८१, शुक्रबार

निजी विद्यालयले लकडाउन अवधिको पनि शुल्क असुल्न खोजेको भन्दै अनेरास्ववियूको विरोध

प्रकाशित मिति :  22 June, 2020 4:12 pm


काठमाडौं, ८ असार ।

निजी विद्यालयले लकडाउन अवधिको पनि शुल्क असुल्न खोजेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले विरोध जनाएको छ ।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै निजी क्षेत्रवाट संचालित विद्यालय हरुको संगठन प्याब्सन र एन प्याब्सनद्वारा विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी लकडाउनको कष्टकर वेलामा पनि शुल्क असुल्ने अभिप्राय स्वरुप जारी गरिएको संयुक्त अपिलप्रति अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘ कोरोना कहरका कारण लकडाउनले गर्दा आम विद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका वेला हठात् शुल्क उठाउने निजी विद्यालय संचालकहरुको आह्वानको हामी घोर निन्दा र भर्त्सना गर्दछौं ।’

लकडाउन केही खुकुलो हुँदै गएपनि उक्त संवेदनशीलताका कारण शिक्षा क्षेत्र सवैभन्दा ढिलो खुल्नु पर्ने परिस्थिति विद्यमान रहेको भन्दै अनेरास्ववियूले यस्तो विषम परिस्थितिमा सरकारले लिएको नीति र विद्यार्थी अभिभावक हरुले बेहोरिरहेको संकटलाई पूर्ण रुपमा वेवास्ता गरी एकतर्फी रुपमा शुल्क उठाउने आह्वान आपत्तिजनक रहेको जनाएको छ ।

प्याब्सन र एनप्याब्सनले विद्यालयमा उपस्थित भई सामाजिक दुरी कायम गरी विद्यार्थीको भर्ना अभिलेख अध्यावधि गर्न, २०७६ को बैंक वक्यौता सम्भव भएसम्म चुक्ता गर्न, ०७७ सालको विद्यालयमा वुझाउनु पर्ने शुल्क भुक्तानी गर्न अपिल गरेको अनेरास्ववियूले उल्लेख गरेको   छ ।

विज्ञप्तिमा भनिएको छ,‘कोरोना कहरको त्रासदि, अभिभावकको विकाराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रुपमा उपेक्षा गरी विद्यालय बन्द रहेको वेला जारी गरिएको यो अपिललाई अवज्ञा गर्न अनेरास्ववियू आम अभिभावक र विद्यार्थीलाई आह्वान गर्दछ ।’

यसप्रकारको असान्दर्भिक र अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनै पनि शिर्षकमा शुल्क नअसुल्न समेत अनेरास्ववियूले चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !