४ आश्विन २०८१, शुक्रबार

रोल्पाको लुंग्री गाँउपालिका यसपटक पनि समयमा बजेट ल्याउन असफल

प्रकाशित मिति :  24 June, 2020 8:31 pm


रोल्पा, १० असार ।

रोल्पाको लुंग्री गाँउपालिकाले यसपटक पनि समयमा बजेट ल्याउन असफल भएको छ ।

गाँउपालिका र वडा तथा अध्यक्ष र उपाध्यक्षबीच सहमति हुन नसकेपछि आज बजेट सार्वजनिक गर्न असफल भएको हो । गाँउपालिका अध्यक्ष दुर्गा खड्काले वडाहरुसँग बजेट सिलिङ नमिलेका कारणले बजेट ल्याउन नसकेको जानकारी दिए ।

गाँउपालिकाले वडालाई २५,२५ लाख रुपैयाँ उपलब्ध गराउन खोजेको थियो । तर वडाले कम्तिमा ५० लाख उपलब्ध गराउनुपर्ने माग गरेपछि विवाद हुँदा गाँउ सभा नै बस्न सकेन । बजेटमा सहमति गर्नका लागि दुई दिनसम्म कार्यपालिका बैठक बसेको थियो । सहमति नभएपछि गाँउपालिका अध्यक्ष खड्का बैठक नै छोडेर हिडेका थिए ।

उपाध्यक्षसँग समेत असन्तुष्ट रहेका खड्काले भनेका थिए,‘ मैले केही गर्न सकिन उपाध्यक्ष ज्यू संयोजक हो उहाँसँग सहमति गरेर पारित गर्नुस्।’ उपाध्यक्ष भिमकला बुढाथोकीले पनि वडासँग सहमति नहुँदा बजेट ल्याउन नसकेको बताईन् ।

मुख्य विवाद डोजर र गाडी

गाँउपालिकाले डोजर र गाडी किन्न झण्डै १ करोड रुपैयाँ राख्न खाजेपछि वडा अध्यक्षहरुले असहमति जनाएका थिए । गाँउपालिकामा एउटा गाडी हुँदा हुँदै अर्को गाडी किन्न आवश्यक नरहेको बताएका थिए । तर, डोजर र गाडी जसरी पनि किन्नुपर्ने भन्दै गाँउपालिकाको कार्यालयले रकम राख्न खोजेको थियो ।

उपाध्यक्ष बुढाथोकीले लुम्बिनी सञ्चारसँग भनिन्,‘हाम्रो गाँउपालिकामा बाटो ठिक छैन, भत्केको भत्क्यै गर्छ त्यसैले एउटा गाउँपालिकाले जेसीबी र कर्मचारी बोक्न एउटा गाडी किन्ने निर्णय गरेको थियो तर वडा अध्यक्षहरुले मान्नुभएन ।’

वडा अध्यक्षहरुले भने गाडी आवश्यक नभएको बताए । एक वडा अध्यक्षले अध्यक्ष र उपाध्यक्षबीच कहिल्यै कुरा नमिलेको टिप्पणी गरे । उनका अनुसार अहिलेपनि अध्यक्ष खड्का चढ्ने गाडीमा उपाध्यक्ष बुढाथोकी चढ्न मान्दैनिन् । दैनिक भाडामा  लिएर उपाध्यक्ष गाडी चढीरहेकी छन् । ति वडा अध्यक्षले भने,‘यस्तो महामारीको अवस्था छ अहिले नयाँ गाडी किन चाहियो ?’ कार्यपालिका बैठकमा विवाद भएपछि आज गाँउ सभा नै बस्न सकेन ।

लुंग्री गाँउपालिका लगातार दोस्रो पटक समयमा बजेट ल्याउन असफल भएको छ । अघिल्लो पटक पनि यस्तै विवाद हुँदा समयमा बजेट सर्वाजनिक गर्न सकेको थिएन । भदौं १० गते मात्रै बजेटबारे औपचारिक निर्णय भएको थियो । यसपटक पनि लुंग्री गाँउपालिका समयमै बजेट ल्याउन असफल भएको छ ।  गाँउपालिका अध्यक्ष खड्काले छलफल गरेर बजेटबारे टुंगोमा पुग्ने लुम्बिनी सञ्चारलाई जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !