सर्लाहीमा सत्तारुढ नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप,१८ जना घाईते
सर्लाही,१५ असार ।
सर्लाहीको धनकौल गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप हुँदा १८ जना घाईते भएका छन् ।
झडपमा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् । गएराति भएको झडपमा नेकपाका १५ र नेपाली कांग्रेसका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । झडपमा दुई जना प्रहरीसमेत घाइते भएका छन् ।
झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा गोलीसमेत चलेको थियो । घटनास्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।
जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको मसाल जुलुसमा काँग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले दाबी गरे ।
आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठीको प्रहारबाट घाइते भएको नेता सिंहको भनाई छ । घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको छ ।
नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले काँग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेको नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए ।