४ आश्विन २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघद्धारा आन्दोलनको घोषणा,अन्तराष्ट्रिय संघसंस्थालाई सहयोगका लागि आव्हान गर्ने

प्रकाशित मिति :  29 June, 2020 8:35 pm


काठमाडौं,१५ असार ।

नेपाल पत्रकार महासंघले पत्रकारको हकहितका लागि आन्दोलनको घोषणा गर्दै अन्तराष्ट्रिय पेशागत संघसंस्थाहरुलाई समेत सहयोगका लागि आव्हान गर्ने निर्णय गरेको छ ।

महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको आज बसेको बैठकले कोरोना संकटको बहानामा पत्रकारहरुमा अन्याय भएको ठहर गर्दै श्रमजीवि पत्रकारको हक अधिकार संरक्षणका लागि आन्दोलनको औपचारिक घोषणा गरेको छ ।

महासंघले समस्या देखिएका सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिक रुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरेको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै श्रमजीवि पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद, पेशागत संघसंगठन, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यवद्धताका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

महासंघले लकडाउनको अवधिमा श्रमजीवि पत्रकारलाई निश्कासन गर्ने, वेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौति गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहिन गराउने जस्ता जटिल समस्या देखिएको उल्लेख गरेको छ ।

आन्दोलनका लागि महासंघले यसअघि सञ्चारगृहहरुमा समयसिमा सहित बुझाएको अल्टिमेटमको समिक्षा समेतका आधारमा आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवि पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापीत गर्न वृहत प्रर्दशन गर्ने निर्णय गरको छ ।

नेपाल पत्रकार महासंघले असार २ गते एक हप्ताभित्र पत्रकारका समस्या समाधान नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरको थियो ।

असार २ गतेको महासंघको विज्ञप्तिमा भनिएको थियो,‘बैठकले पछिलो समय विभिन्न सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेकाविरुद्ध महासंघ सशक्त आन्दोलनमा जाने निर्णय गरेको छ ।’

तर,योबीचमा महासंघको चेतावनी विपरित ठूला मिडिया हाउसले आफ्ना प्रकाशन बन्द गर्ने र पत्रकारको मागलाई वेवास्था गर्नेसम्मका काम भएका छन् ।

ठूला भनिएका मिडियामै समस्या

काठमाडौंका ठूला र मूलधारका भनिएका मिडियामै श्रमजीवि पत्रकारसम्बन्धि समस्या देखिएको छ । कारोबार दैनिकमा तीन वर्षदेखिको समस्या समाधान नभएको भन्दै पत्रकार तथा कर्मचारी आन्दोलनमा छन् ।

महासंघले अहिलेसम्म उजुरीका आधारमा कान्तिपुर, अन्नपूर्ण, नयाँ पत्रिका, नागरिक, माउन्टेन टिभी, हिमालय टिभी, एपी १ टिभी, राजधानी दैनिक, उज्यालो रेडियो र एभिन्युज टिभीमा अल्टिमेटम पत्र बुझाएको छ ।

तर कसैले माग सम्बोधन गरेका छैनन् । योबीचमा कान्तिपुर मिडिया ग्रुपले नेपाल,नारी र साप्ताहिक गरि आफ्ना तीन प्रकाशन बन्द गरेको छ । अन्य मिडियाबाट पनि माग पुरा गर्न दिएको अल्टिमेटमको सुनुवाई नभएपछि नेपाल पत्रकार महासंघले औपचारिक रुपमा आन्दोलनको घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस !