सलह के हो ? यसको सामना कसरी गर्ने ?
सलह मरुभूमिमा पाइने फट्याङ्ग्रा प्रजातिको किरा हो । उत्तरपश्चिम भारत, पाकिस्तान, मध्यपूर्वी एसीया र पूर्वी अफ्रिकी मुलुकहरु सलहप्रकोप झेलिरहेका छन् ।
यी क्षेत्रमा कृषि उपजको मुख्य विनाशक तथा खाध्य सुरक्षाको चुनौति बनेको छ, सलह । कृषि उपजमाथि यति ठूलो भयानक स्तरको हमला धर्तीमा कुनै प्राणीले गर्छ भने, त्यो सलहले नै हो ।
बाइबल, कुरान लगायतका धार्मिक ग्रन्थ तथा प्राचीन मिथकहरुमा लोकष्ट प्लेग चर्चा हुनुले मानव जातिको इतिहासदेखि नै सलह एउटा प्रकोपको रुपमा रहेको पुष्टी हुन्छ । हावाको बहाव बदलिएसँगै अचानक आएको सलहको हुलले अध्याँरो छायो अनि केही दिनमा सबै सखाप पारेको इजिप्टियन मिथकहरु आज पनि सुन्न पाइन्छ । इजिप्टका चिहानहरुमा सलह समेत दफन गरिएको भेटिनु सलह र मानिसको शत्रुता नयाँ नभएको पुष्टी हुन्छ ।
नेपाल मरुभूमिबाट निकै टाढा रहनुले पनि सलह प्रकोप त्यति परिचित संकट होइन । केही दिन अघि भने सलह नेपाल प्रवेश गरेको किट विज्ञहरुले बताएका छन् । मध्ये नेपालको तराई क्षेत्रबाट उत्तर बहेको हावासँगै प्रवेश गरेको सलहको हुल पहाड छिरेको विभिन्न सञ्चार माध्यममा आएको छ । यसलाई विज्ञहरुले जलवायु परिवर्तनको प्रभावको रुपमा ब्याख्या गरेका छन् तर सलहका मिथकहरु नेपाली समाजमा उहिल्यैदेखि सुनिएका हुन् । नेपालले सलहप्रकोप विगतमा पनि सामना गरिसकेको कुरा यसबाट प्रष्ट हुन्छ ।
मैले सुनेको सलहको मिथक
मेरो हजुरआमा सानो छँदा गाउँमा सलह आएछ । बारीको मकै विरुवा सबै सखाप पार्यो । गाउँभरिका सबै जम्मा भए र, गाउँसभा गरे । मकै सखाप पार्ने सलह छोप्ने आमसहमति भयो । गाउँले जम्मा भएर साँझ—साँझ सलह छोप्न जंगल गए । साँझपख सलह झाँडीका हाँगामा आराम गरेर बसेका हुन्थे । दाङरे झोला भरेर घर ल्याउँदै नुनपानीमा उमाले । त्यसपछि सुकुटी बनाएर ठुनमा भण्डारण गरे ।
त्यसबेला आजको जस्तो आधुनिक रसायनिक विषादी पनि थिएन । घाम छेक्ने गरी आएका करोडौँ सलहको प्रतिकार्य गर्ने कुनै उपाय थिएन । आजको जस्तो तराईबाट पहाड खाध्यान्न ढुवानी गर्ने सजिलो माध्यम पनि थिएन । मानिसहरु जहाँ बस्छन् त्यहीँ उपलब्ध खाध्यश्रोत मै भरपर्नुको विकल्प थिएन । अनिकाल अवश्यंभावी थियो ।
नभन्दै त्यो वर्ष प्रकोपले बर्खे बालीको फसल सप्रेन । गाउँमा खाध्य संकट भयो । फट्याङ्ग्रा खाने संस्कृति भएकोले त्यो समुदायले खाध्य श्रोतको वैकल्पिक तरक्की अपनायो । ठुनका ठुन भण्डारण गरिएका सलहले त्यो वर्षको अनिकाल टार्यो । एउटा गजबको अनुकूलन रणनीति त्यो समुदायले अक्तियार गर्यो र भोकमरीबाट गाउँ बचायो ।
सलह के हो ?
इशापूर्व २०३ मा एरिस्टोटलले कापुवामा सलह र यसको प्रजनन् व्यवहारबारे अध्ययन गरेको अभिलेख पाइन्छ । रसीयन—ब्रिटश एन्टोमोलोजिष्ट सर बोरिस उभारोभले सन् १९४५ देखि लण्डनमा स्थापित एन्टि लोकष्ट रिसर्च सेन्टरको डारेक्टरको रुपमा कार्य गर्दा सलह सम्बन्धी थुप्रै वैज्ञानिक तथ्यहरु सार्वजनिक गरेका छन् । यसबारे पछिल्लो समयमा थुप्रै अध्ययन भएका छन् तथापि यी सलह नियन्त्रणका निमित्त पर्याप्त छैनन् ।
सलहको जीवनमा २ चरण आउँछन् । पहिलो सोलिटारी चरण हो । यस चरणमा सलह उड्न सक्दैन खाली हिड्ने र उफ्रने गर्दछ । छोँटो पखेटा हुन्छ । खासै ठूलो समुहमा बस्दैन । मरुभूमिमा पाइने विरुवाको हरियो पात खान्छ । यस चरणमा रहेको सलह हानिकारक मानिदैन ।
सलहको ग्रेगारियस चरण अर्थात दोश्रो चरणलाई संकटको रुपमा लिइन्छ ।
उपयुक्त पर्यावरण हुने वित्तिकै सलह सोलिटारी चरणबाट ग्रेगारियस चरणमा जुनसुकै बेला पनि प्रवेश गर्न सक्छ । यसचरणमा उसले आफ्नो पुरानो शरीर त्याग्छ र नयाँ शरीर प्राप्त गर्दछ । यसका लागी उसलाई सघाउँछ मरुभूमिको बर्षाले । जमिन ओसिलो र वरिपरि हरियाली हुने वित्तिकै सलह दोश्रो चरणमा जान्छ ।
ग्रेगारियस चरणमा सलहको सम्पूर्ण कुरा बदलिन्छ । रंग, आकार, भोजन, पखेटा, मस्टिष्क सबै बदलिन्छन् । तिब्र भोकले गर्दा सबैथोक खान्छ । विरुवाको फल, फुल, पात, डाँठ केही पनि बाँकी राख्दैन । ठूलो हुलमा उड्न थाल्छ ।
सन् २०२० मा केन्यामा देखिएको सलहको हुल २४ सय वर्गकिलोमिटरको मापन गरिएको थियो । यो झुण्डको घनत्व प्रति वर्गकिलोमिटर १५ करोडभन्दा बढीको संख्यामा रहेको हिसाब गरिएको थियो ।
अभ्यासमा आएका रोकथामका उपायहरु
सलहप्रकोप सामना गर्न संयुक्त राष्ट्र संघ खाध्य तथा कृषि संगठनले अन्तराष्ट्रिय स्तरमा समन्वयको कार्य गरिरहेको भएपनि राज्यहरुको कमजोर क्षमता र पूर्वाधारका कमिले गर्दा प्रभावित क्षेत्रमा उपयुक्त उपायहरु अभ्यासमा आएका छैनन् । बृहद रुपमा किटनाशक विषादी छर्केर सलह मार्ने कार्य अभ्यास गरिएपनि यो उपयुक्त उपाय होइन । यसले पर्यावरण र मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर अझ गम्भिर हुन्छ । अधिक सहन क्षमताका कारण जैविक विषादी सलह मार्न प्रभावकारी देखिएको छैन ।
किसानहरुले स्थानीयतहमा थाल तथा अन्य बाजा बजाएर आफ्नो खेतबाट सलह धपाउने अभ्यास धेरै ठाउँमा छ । कतै धुवाँ लगाएर भगाउने गरेको देखिन्छ । कतै छोपेर खाने गरिएपनि करोडौँको संख्यामा हुनेहुँदा प्रकोप न्यूनिकरणको यो उपयुक्त उपाय हुन सक्तैन ।
पछिल्लो पटक पाकिस्तान सरकारले सलहप्रकोपको सामना गर्न गजबको उपाय अबलम्बन गरेको छ ।
सलहलाई चिकेन फिड बनाएर । प्रधानमन्त्री इमरान खानले सलहको चिकेन फिड उत्पादन गर्ने पाइलट परियोजनाको विस्तार गर्ने योजनालाई अनुमोदन गरेका छन् । पाकिस्तानको खाध्य सुरक्षा मन्त्रालयले यो पाइलट परियोजना सञ्चालनमा ल्याएको थियो ।
यस परियोजनाले सलहलाई चिकेन फिडको रुपमा उपयोग गर्छ । किसानहरुले संकलन गरेको सलह २० पाकिस्तानी रुपैयाँ प्रतिकेजीका दरले सरकारले खरिद गर्छ । संकलित सलहलाई पाकिस्तानको हाइटेक फिडमा पठाइन्छ जो पाकिस्तानको घरपालुवा जनावर र कुखुराको दाना उत्पादन गर्ने उघोग हो ।
शुरुमा किसानहरु यो परियोजनामा खासै इच्छुक नदेखिएपनि पछिल्लो समय उत्साहित भएका छन् । बाली सखाप पारेका सलह संकलन गरेर विक्री गरेपछि प्राप्त नगदले उनीहरुमा उत्साह थपेको छ । यो परियोजना पाकिस्तानभर विस्तार गर्ने सरकारी योजना छ ।
खाध्यश्रोतको रुपमा
सलह खानयोग्य किराको रुपमा लिइएको छ । प्रोटिनको मात्रा काचो १८।२ ग्राम, फ्राई ३० ग्राम र धुलो ४७.५ ग्राम प्रति १०० ग्राम वयश्क सलहमा उपलब्ध हुने संयुक्त राष्ट्र संघ खाध्य तथा कृषि संगठनको इन्टरनेशनल नेटवर्क फूड डाटा सिस्टम अफ्रिकामा उल्लेख गरिएको छ । यसलाई क्षेत्रीय खाध्य श्रोतमा पनि समावेश गरिएको छ ।
यमन युध्द हुँदा त्यहाँको सरकारले जनताहरुलाई प्रोटिनयुक्त सलह खान प्रोत्साहन गरेको थियो । साउदी अरबीया लगायतका मध्यपूर्वीदेशमा सलहको परिकार खाने संस्कृति छ । अफ्रिकी मुलुकहरुमा पनि यसलाई खाने गरिन्छ । एसियन मुलुकका थुप्रै आदिवासी र जनजाति समुदायमा पनि सलह खाने संस्कृति छ ।
नेपालमा के गर्न सकिन्छ ?
नेपालमा पनि सलहप्रकोप रोकथामको निमित्त संघीय सरकारले योजना बनाउँदैछ । प्रदेश सरकारहरुले पनि आआफ्नो प्रतिकार्य योजना अघि सारेका छन् । केही प्रदेश सरकारले पाकिस्तानी मोडेलमा सर्वसाधारणबाट प्रतिकेजी २० रुपैयाँमा खरिद गर्ने घोषणा गरेका छन् । साँच्चै यसलाई पाकिस्तानको खाध्य सुरक्षा मन्त्रालयको जस्तै फिड फ्याक्ट्रीमा प्रशोधन गर्न सके निकै राम्रो हुन सक्छ ।
यस्तै मौसम पूर्वानुमान विभागले हावाको बहावबारे आधिकारिक जानकारी गराउनुपर्छ । सलहको झुण्ड हावाको बहावसँगै सर्दै जाने भएकोले यसको अनुगमन गरी विज्ञहरुले कृषि विकास मन्त्रालयबाट आधिकारिक सञ्चार माध्यमहरु मार्फत तारन्तार किसानलाई जानकारी दिनु पर्छ ।
स्थानीय स्तरमा किसानले आफ्नो बालीनाली जोगाउन दमा, थाल, स्पिकर, माइक बजाउनु पर्छ ।
धुवाँ लगाएर बारीबाट धपाउनु पर्छ । आधिकारिक सूचनाका आधारमा पूर्व तयारीका साथ बस्नु पर्छ । फट्याङ्ग्रा खाने संस्कृति भएकाहरुले छोपेर ड्राई, फ्राई र अचार बनाएर राख्नु पर्छ । प्रकोप नियन्त्रण बाहिर जाने अवस्था भएमा पर्यावरणीय अवस्थितिको कमसेकम नाश हुने गरी किटनाशक विषादी पनि प्रयोग गर्नुपर्छ ।
अन्तमा,
सलह नेपाल प्रवेश गरेपनि आशा गरौँ यसले ठूलो संकटको रुप नलियोस् । किट विज्ञहरुले पनि नेपाल प्रवेश गरेको सलह सानो झुण्डको भएको बताएका छन् ।
संघीय, प्रदेश र स्थानीय सरकार तथा किसानहरुबीच समन्वयलाई प्रभावकारी बनाउनु पर्छ । अन्तराष्ट्रिय अनुभव र स्थानीय आदिवासी ज्ञानको समेत उपयोग गरी नेपालको यो सलहप्रकोपलाई निवारण गर्नुपर्छ ।
(लेखक जापानको हिरोशीमा युनिभर्सिटीमा आर्थिक नीति अध्ययनरत छन् ।)