चिकित्सकसहितको स्वास्थ्य सेवा शुरू
पाल्पा, १७ असार ।
पाल्पाको हुँगी स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ । चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट सञ्चालित हुँगी स्वास्थ्यचौकीले आगामी साउन महिनादेखि एमबीबीएस डाक्टरबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । आधारतभूत स्वास्थ्यमा नागरिकको पहुँच बढाउन गाउँपालिकाले एमबीबीएस डाक्टरसहितको व्यवस्था गर्न लागेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ देखि स्वास्थ्यमा नागिरकको पहुँच बढाउन करारमा एमबीबीएस डाक्टरको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । स्वास्थ्यचौकीमा ल्याबसहित दश जना कर्मचारी रहेका छन् ।
रम्भा गाउँपालिकाका पाँच स्वास्थ्यचौकीमा ल्याब, बर्थिङ्ग सेन्टर, तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएका छन । विपन्न समुदायका ५०० नागरिकको स्वास्थ्य बीमा, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रनितिधि गरी ३०० जनाको कोरोना बीमा गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। गाउँपालिकाले दीर्घरोगीलाई घर–घरमा उपचार, औषधि वितरण गर्दै आएको छ ।रासस ।