३ आश्विन २०८१, बिहिबार

रुकुम पश्चिममा दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

प्रकाशित मिति :  5 July, 2020 12:28 pm


रुकुम पश्चिम ,२१ असार ।

रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन आर्थिक वर्ष २०७७/७८ मा पनि दूध बिक्री गर्ने किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७र७८ मा पनि दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

व्यक्तिगतरूपमा दूध उत्पादनमा लागेका किसानलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रम चालु वर्षमा राम्रो भएकाले अर्को वर्षका लागि पनि यसलाई निरन्तरता दिन लागिएको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रममा दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ ।

नगरपालिकाले यो वर्ष दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिएको थियो । दूध उत्पादनलाई बढाउन प्रोत्साहनस्वरुप किसानलाई प्रतिलिटरमा अनुदान दिने कार्यक्रम नगरपालिकाले बनाएको थियो । एक लाख ६० हजार रुपैयाँ बजेटको व्यवस्थासहित बनाइएको यो कार्यक्रममा चालु आर्थिक वर्षमा १ लाख १५ हजार खर्च भएको नगर पुश सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिए ।

उनका अनुसार यो वर्ष १८ दूध उत्पादक किसानले अनुदान प्राप्त गरेका छन् । अनुदान पाउनका लागि कम्तीमा ५०० लिटर दूध उत्पादन गरेको हुनुपर्ने प्रावधानअनुसार नगरभरका व्यक्तिगतरूपमा दूध उत्पादन गरिरहेका १८ किसानले कम्तीमा १ हजार ५०० देखि बढीमा २४ हजार ६ सय रुपैयाँसम्म अनुदान पाएको सापकोटाको भनाइ छ ।

अनुदानका लागि वर्षभरिमा कम्तीमा ५०० लिटर दूध उत्पादनका साथै नगरमा सूचीकृत डेरीमा दूध बिक्री गरेको हुनुपर्ने नियम तोकिएको  थियो । आगामी वर्षसमेत यो कार्यक्रमले निरन्तरता पाउने भए पनि चालु वर्षकै अनुसार सञ्चालन गर्ने कि नयाँ विधिबाट सञ्चालन गर्ने भन्नेबारेमा यकिन भइसकेको छैन ।

आगामी वर्षका लागि नगरपालिकाबाट भैँसी प्रवद्र्धन कार्यक्रमका लागि २१ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ भने सङ्घीय सरकारबाट पनि यो शीर्षकमा यति नै मात्रामा बजेट आएको नगरपालिकाले जनाएको छ । दूधमा अनुदान कार्यक्रम यसै शीर्षकको बजेटबाट सञ्चालन हुने र बजेट विनियोजन हुन बाँकी रहेको नगर पशु सेवा शाखा प्रमुख सापकोटाले बताए ।



प्रतिक्रिया दिनुहोस !