३ आश्विन २०८१, बिहिबार

काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिए,नेपाल एयरलाइन्सका सात जना उडान कर्मचारीमा सङ्क्रमण

प्रकाशित मिति :  6 July, 2020 5:49 pm


काठमाडौं,२२ असार ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा आज मात्रै ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

यो संगै पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।  देशभर २४ घण्टामा १८० जना कोरोना संक्रमित भेटिएका मध्य ५४ जना काठमाडौं उपत्यकाभित्रका मात्रै छन् ।

त्यस्तै लमजुङमा ११, सप्तरी, कैलाली, र कास्कीका ८-८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६-६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र  झापाका ५-५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्यूठान र काभ्रेका ४-४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३-३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २र२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

जहाजका कर्मचारीमा पनि संक्रमणको पुष्टि

नेपाल एयरलाइन्सका सात जना उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित ‘क्रु मेम्बर’को पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टाईनमा बसेका थिए । निर्धारित उडान सकेर क्वारेन्टाईनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा सात जना ‘क्रु मेम्बर’लाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको निगमले जनाएको छ ।

उनीहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत सञ्चालन हुने निगमले स्पष्ट गरेको छ ।

निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीका लागि आवश्यक निर्धारित मापदण्डअनुसारको जिम्मेवारी पूरा गर्दै आएको पनि उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !