७ मंसिर २०८१, शुक्रबार

आत्महत्याकाे सूचनाकाे सामाजिक प्रभावः सामाजिक संजाल र आमसञ्चार माध्यममा के लेख्ने, के नलेख्ने ?

प्रकाशित मिति :  8 July, 2020 9:42 am


निशेष आचार्य

आत्महत्या एक संवेदनशील विषय हो। मानवीय समवेदना सँग जोडिने यस्ता विषयको समाचार सम्प्रेषण गर्नु पक्कै पनि गाह्रो काम हो। मनोवैज्ञानिक अल्बर्ट ब्यान्डुराको सामाजिक सिकाइको सिद्धान्तका अनुसार मानिसको सिकाई अवलोकन र नक्कलबाट हुने गर्दछ। अर्थात् मानिसले जे देख्छ, त्यही सिक्छ।

आजको युगमा हामी विभिन्न सञ्चारका माध्यमहरूबाट घेरिएका छौं। आज मानिसले आफ्नो वरिपरि भौतिक संसार भन्दा मोबाइल वा कम्प्युटरको स्क्रिनको भर्चुअल संसारलाई नै बढी हेर्छ । यसै बाट आकलन गर्न सकिन्छ, सञ्चार माध्यमहरूले मानिसको सिकाई , सोचाई र व्यवहारमा कति असर पार्न सक्छन्। त्यसैले पनि आत्महत्या जस्तो संवेदनशील विषयको समाचारहरूले आम मानिसको मनोविज्ञानमा पार्ने असर बारे अझ धेरै सजग हुनुपर्छ ।

हाम्रा मिडियाहरू यो कुरामा पूर्णतः चुकेको देखिन्छन्। यस्ता समाचारहरू कुनै सजगता नअपनाई सम्प्रेषण गर्दा के कस्तो असर पर्न जान्छ भन्ने कुरामा पनि मिडिया र आम जनता अनभिज्ञ रहेको देखिन्छ। आत्महत्या रोकथामका नाममा विभिन्न कार्यक्रमहरू आयोजना हुने गरे पनि यसमा मिडियाको भूमिकाको चर्चा कतै देखिँदैन। कतिपय अभियन्ताहरूले नै सामाजिक सञ्जालमा संवेदनशील तस्विरहरू बिना सावधान पोस्ट गरेको पनि देखिन्छ।

सञ्चार माध्यमहरूको असावधानीको सबै भन्दा बढि असर किशोर-किशोरी, युवाहरु र मानसिक समस्यासँग जुधिरहेका व्यक्तिहरूमा पर्ने देखिन्छ। यही कारणले गर्दा अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता देशहरूले आत्महत्याको रिपोर्टिङको लागि मिडिया गाइडलाइन नै तयार गरेका छन्। त्यस्तै विश्व स्वास्थ्य सङ्गठन र आत्महत्या रोकथाममा काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइ.ए.एस.पि. ले पनि ‘आत्महत्या रोकथामका निम्ति मिडियाकर्मीहरूका लागि रिसोर्स’ जारी गरेका छन्, जुन विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटमा सजिलै भेट्न सकिन्छ।

नेपालमा आत्महत्याको रिपोर्टिङ सम्बन्धी छुट्टै कुनै गाइडलाइन वा आचारसंहिता नभए पनि ‘पत्रकार आचार संहिता, २०७३’ को ‘पत्रकार र सञ्चार माध्यमले गर्न नहुने कार्यहरू’ अन्तर्गत ‘आत्महत्या गर्न उक्साउने’ पनि पर्दछ। तर यसबारे विस्तृत रुपमा कतै व्याख्या गरेको पाइदैन।

‘पत्रकार र सञ्चार माध्यमले गर्न नहुने कार्यहरु’ अन्तर्गतकै वुदा ६ मा भनिएको छ, ‘पत्रकार तथा सञ्चार माध्यमले समाजमा हिंसा, निराशा, घृणा,सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्विरहरू सम्प्रेषण गर्नुहुँदैन ।’ यी वुदाहरूलाई मात्र ध्यानमा राखेर समाचार सामाग्री बनाएमा पनि उक्त समाचार धेरै हद सम्म अनुशासित नै रहन्छ। तर जनमानसमा पर्ने असर र गर्न हुने नहुने बारे विस्तृत जानकारीको अभावका कारण सञ्चारकर्मीहरूले यी कुराहरूमा ध्यान नपुर्याएको देखिन्छ।

समाचारको असर :

पछिल्लो केही वर्ष यताका अध्ययनहरूले सञ्चार माध्यममा आउने सामग्रीहरूले आत्महत्याको घटनाको सङ्ख्यामा प्रत्यक्ष रूपमा असर पुर्याएको देखाउँछन्। घटनाको विस्तृत बयान, घटनाका तस्विरहरू, प्रयोग भएको तरिकाको वर्णन र समाचारलाई बढि प्राथमिकता दिइने जस्ता गलत अभ्यासले गर्दा आम मानिसको मनोविज्ञानमा अत्यन्तै नकारात्मक प्रभाव पर्ने अध्ययनहरूको ठम्याइ छ।

विशेष गरि कुनै सेलिब्रेटिको मृत्यु पछि ‘कपि क्याट सुसाइड’ का घटनाहरू देखिने गर्छन्। २०१४ मा अस्कार विजेता हलिउड कलाकार रोबिन विलियम्सको मृत्यु पछि अमेरिकामा आत्महत्याबाट हुने मृत्युको दर दस प्रतिशतले वृद्धि भएको थियो, जसमा विलियम्सकै तरिका प्रयोग गर्ने युवाहरूको संख्या पनि धेरै थियो।

कलाकार मेरिलिन मन्रोको मृत्युको महिनामा उनको सहरमा औसत भन्दा २०० बढी आत्महत्याका घटनाहरू देखिएका थिए। २०१७ को एक अध्ययन अनुसार, एक प्रमुख पात्रको आत्महत्या देखाइएको युवाहरूमा लोकप्रिय एक अमेरिकी टिवी सिरिज प्रशारण भए पश्चात् गुगलमा आत्महत्याका उपायहरू बारे खोजीमा उल्लेख्य वृद्धि भएको थियो।

केही समय अघिको बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको घटना पछि पनि कपिक्याट सुसाइडहरु देखिएको कतिको आकलन छ। समाचारलाई सनसनीपूर्ण बनाउने धुनमा लागेका मिडियाहरूको भने यस तिर पटक्कै ध्यान नपुगेको देखिन्छ।

संचार माध्यमहरुको जिम्मेवारपुर्ण रिपोर्टिंगले कसरी मानिसहरूले आफुलाई हानी पुर्याउने सम्भावना कम गर्छ भन्ने कुरा पनि अध्ययनहरूले देखाउँछन्। सन् १९९४ मा निर्भाना ब्यान्डका कलाकार कर्ट कोविनको मृत्यु पश्चात् समाचार सम्प्रेषणमा अपनाइएको सावधानीले गर्दा लाखौँ फ्यानहरु शोकाकुल हुँदा पनि अन्य दुखद् घटनाहरू बढ्न पाएनन्।

अस्ट्रियाको भिएनाका सववेहरूमा आत्महत्याको घटना बढे पछि सरकारले सन् १९८७ मा मिडिया गाइडलाइनको व्यवस्था गर्यो, जस पश्चात् त्यस्ता घटनाहरु ८० प्रतिशतले घटेको पाइएको थियो। सन् १९९०मा स्विजरल्यानडमा मिडियामा आत्महत्याको रिपोर्टिङ बारे बहस सुरु भए पछि चिकित्सक र विज्ञहरूको टोलीले गाइडलाइन तयार पार्यो।

जस पश्चात् पहिलो पृष्ठमा आत्महत्याको समाचारको प्रकाशन २० प्रतिशत बाट घटेर ४ प्रतिशतमा, समाचारमा फोटोको प्रयोग ४३ प्रतिशत बाट ८ प्रतिशतमा र सनसनीपुर्ण शीर्षकको प्रयोग ६२ प्रतिशत बाट घटेर २५ प्रतिशतमा झरेको पाइयो, फलस्वरूप धेरै आत्महत्या सम्बन्धी समाचारहरू प्रकाशित हुँदा पनि आत्महत्याको सङ्ख्यामा कमी आएको पाइएको थियो।

तथ्याङ्कमा नेपालको अवस्था

हालको समयमा नेपालमा आत्महत्याका घटनाहरूमा तीव्र बढिरहेको देखिन्छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा देशभर आत्महत्या बाट मृत्यु हुनेको सङ्ख्या ५ हजार ३१७ थियो।

आर्थिक वर्ष ०७५/७६ मा यो सङ्ख्यामा ९ प्रतिसतले वृद्धि भएर ५ हजार ७९५ पुगेको देखिन्छ, जुन प्रतिदिन औसतमा झन्डै १६ हुन आउँछ। कोरोनाको माहामारीको आर्थिक र सामाजिक असरका कारण यस वर्ष आत्महत्याका घटनाहरू अझै बढ्न सक्ने बारे विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन्।

अझै चिन्ताको विषय त के छ भने मानिसहरू लकडउनमा अत्याधिक समय इन्टरनेट र समाचारहरूमा बिताउने हुनाले आत्महत्या सम्बन्धी अनावश्यक चर्चा र गलत तरिका बाट सम्प्रेषित समाचारहरूको प्रभाव अझ धेरै पर्ने सम्भावना रहन्छ।

जोखिम बढाउँदै सामाजिक सञ्जाल

आज हरेक वर्गको मानिस सङ्ग स्मार्ट फोन छ र फोन हुने जो कोहीले पनि सजिलै इन्टरनेटमा पहुँच बनाइ सामाजिक सञ्जालमा रमाउन सक्छ। समाजीका सञ्जालले हरेक व्यक्तिलाई यसरी बाँधेर राखेका छन् कि हरेक क्षण मानिसले आफ्नो वरिपरि देखि दूरदराजका खबरहरू नहेरी बस्न सक्दैन, खबरहरू, जसमा चाहिने कम र नचाहने धेरै हुन्छन्।

समाचारको नया श्रोतका रूपमा आइका छन् सामाजिक सञ्जाल। जो कोहीले पनि सजिलै फोटो, भिडिओ सहितका खबरहरू आफ्नो ढङ्गले सामाजिक सञ्जालमा पस्कन सक्ने हुनाले सामाजिक सञ्जालमा आफ्नो समाचार बिकाउने र ‘भाइरल’ बनाउने होडबाजी नै चल्छ। धेरै समाचार पाउनु वा छिटो समाचार पाउनु आफैमा नराम्रो होइन, तर जो कोहीको पनि पहुँच हुने सामाजिक सञ्जालका विषयवस्तु र सामाग्रीहरू न त फिल्टर हुन्छन्, न त सेन्सर नै।

यही कारणले गर्दा आम मानिसको मनोविज्ञानमा नराम्रो असर पर्ने खलका सामग्रीहरू पनि सामाजिक सञ्जालमा पोस्ट हुने गर्छन्, जसमा कतिपय आत्महत्या सङ्ग सम्बन्धित अत्यन्तै विचलित बनाउने खालका फोटो र भिडिओहरु पनि पर्छन्। यस्ता सामग्रीहरूले कपिक्याट सुसाडका घटनाहरू गराउने सम्भावना हुन्छ।

त्यसैले त्यस प्रकारका सामाग्रीहरू सेयर गर्नु सरासर मान्छेको जीवन सङ्ग खेलबाड गर्नु हो। तर सामाजिक सञ्जालमा मानिसहरूलाई कस्तो सामग्री राख्न दिने वा नदिने भन्ने हाम्रो हातमा हुँदैन। सामाजिक सञ्जालमा कुनै कुरा पोस्ट गर्न न त लाइसन्स चाहिन्छ न त विज्ञता नै।

यस्ता कारणहरूले गर्दा सामाजिक सञ्जालमा सम्वेदनशील सामाग्रीहरू बिना कुनै सोच विचार राख्ने गलत अभ्यास डरलाग्दो गरी बढेको छ। यसले विशेष गरी सामाजिक सञ्जालको धेरै प्रयोग समूहमा जोखिम बढाएको छ।

पछिल्ला तीन आत्महत्या दाङ, भरतपुर र काठमाडाैंमा फेसबुक लाइभ मार्फत् भएका छन् । समाजकाे लागि याे थप जाेखिमपूर्ण विषय हाे । अझै ति आत्महत्याकाे भिडियाे र फाेटाे पाेष्ट गरेर पेज लाइक बढाउन लाग्ने जमात पनि देखिन्छ । यसतर्फ प्रहरी प्रशासनले खासै चासाे नदिएकाे भान हुन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्ने?

सामाजिक सञ्जालमा भेटिने हरेक अनुपयुक्त र विचलित बनाउने सामाग्री हटाउन मद्दत गरी सन्जापलाई स्वच्छ एवं सुरक्षित बनाउने हरेक प्रयोगकर्ताको कर्तव्य हो। यसको लागी हामीले यी कामहरू गर्न सक्छौं,

१. सकभर आत्महत्या सम्बन्धी समाचारहरू पोस्ट नगर्ने। समाचारहरू पोस्ट गर्दैमा त्यसले आत्महत्या रोकथाममा सहयोग गर्दैन। राम्रो मनसाय हुँदा हुँदै पनि ध्यान नपुराउनाले पाठकमा नराम्रो असर परिरहेको हुन सक्छ।

२. रिपोर्ट गर्ने। फेसबुक, युट्युब, टुइटर, इन्स्टाग्राम लगायत सबै सामाजिक सन्जालहरुमा अनुपयुक्त पोस्टलाई रिपोर्ट गर्ने सुविधा हुन्छ। यो सामाजिक सन्जाल सुरक्षित बनाउनकै लागि हो। सामाजिक सञ्जालमा नहुनु पर्ने जस्तो कुनै पनि सामाग्री देखेमा रिपोर्ट गर्ने बानी गरौं। कसैको जीवन नै खतरामा भएको जस्तो लाग्ने अवस्थामा प्रहरीलाई नै फोन गरी जानकारी दिन पनि सकिन्छ।

३. अनुपयुक्त पोस्टलाई सेयर, लाइक वा अरुलाई फरवाड नगर्ने, राख्न्ने व्यक्तिलाई वा च्यानललाई फलो नगर्ने। आफूले पनि अरु सङ्ग लिंक नमाग्ने। त्यसो गर्नाले सामग्री झनै फैलिन सक्छ।

४. पोस्ट गर्ने व्यक्तिलाई म्यासेज गरी हटाउन अनुरोध गर्ने र सचेत बनाउने।

५. आफूले पनि पोस्ट गर्दा ध्यान दिने। आत्महत्याको घटनाको फोटो, भिडिओ वा विस्तृत चर्चा गरिएको कुनै पनि सामाग्री पोस्ट गर्दै नगर्ने। आत्महत्याको तरिका देखाउने कुनै पनि फोटो, भिडिओ, समाचारको लिङ्क वा अरू कुनै सामाग्री सेयर नगर्ने। आत्महत्या समाधान होइन भन्ने सन्देश दिने पोस्टमा फोटो राख्नु आवश्यक छैन। कुनै पनि पोस्ट सङ्ग सहयोगको लागि फोन नम्बर राख्न नछुटाउने।

सञ्चारकर्मीहरूले के गर्ने र के नगर्ने?

१. सहायताको लागि फोन नम्बर र अन्य श्रोत उल्लेख गर्नेः

आत्महत्या र मानसिक समस्या सम्बन्धी समाचार वा लेखहरू सँग जहिले पनि सहायता लिनको लागि सम्पर्क गर्ने स्थान वा फोन नम्बरहरू उल्लेख गर्नु पर्दछ । साथै डिप्रेसन जस्ता मानसिक समस्याहरूको उपचार सम्भव छ र आत्महत्या सत् प्रतिशत रोक्न सकिन्छ भन्ने सन्देश पनि दिनु पर्दछ।

२. मानसिक स्वास्थ्यको भूमिकाको चर्चा गर्नेः

आत्महत्या एक मानसिक समस्या हो, जसको रोकथाम सम्भव छ। धेरै जस्तो अवस्थामा यो डिप्रेसन जस्ता अन्य मानसिक समस्याहरू सँग सम्बन्धित हुन्छ। आत्महत्या सम्बन्धी सामग्रीमा डिप्रेसन जस्ता मानसिक समस्याहरूको उपचार सम्भव छ र आत्महत्या सत् प्रतिशत रोक्न सकिन्छ भन्ने सन्देश समावेश गर्नु पर्दछ।

३. कुनै एक कारणलाई दोष नदिनेः

आत्महत्या एक जटिल विषय हो, यसका कारणहरू खोतल्नु झनै जटिल हुन्छ । त्यसैले कुनै पनि एउटा घटना वा समस्यालाई मात्र कारण मान्नु गलत हुन्छ। कारण खोज्नु भन्दा मानसिक स्वास्थ्य, समस्या सँग जुध्न सक्ने क्षमता आदि बारे चर्चा गर्नु उपयुक्त हुन्छ ।

४. सकभर आत्महत्यालाई मुख्य समाचार नबनाउने:
सकभर आत्महत्याको खबरलाई प्रमुख समाचार नबनाउने, मुख्य पृष्ठमा प्रकाशित गर्ने गर्नु हुँदैन। मृत्युको कारण आत्महत्या भएको कारणले नै कुनै समाचार लाई प्राथमिकता दिनु गलत हो।

५. घटनामा प्रयोग भएको विधि र घटना भएको स्थानको चर्चा नगर्नेः

समाचार सम्प्रेषण गर्दा घटना र घटनास्थल चर्चा सकभर कम गर्नु पर्दछ। विशेष ध्यान दिनु पर्ने कुरा प्रयोग भएको विधिको बरेमा कहिने पनि चर्चा गर्नु हुँदैन।

६. घटनाको फोटो प्रयोग नगर्नेः

समाचार सम्प्रेषण गर्ने क्रममा सकभर फोटोको प्रयोग कम गर्नु पर्छ। आत्महत्याको विधि देखाउने वा इङ्गित गर्ने फोटो र घटनालाई देखाउने फोटोको प्रयोग गर्नु हुँदैन।

७. आत्महत्यालाई गौरवको विषय, रोमान्चकताको विषयको रूपमा प्रस्तुत गर्ने वा अति सामान्यीकरण गर्ने खलको भाषा प्रयोग नगर्नेः

समाचार सम्प्रेषण गर्दा मिडियाहरू चुकेको देखिने अर्को पक्ष यो पनि हो। विशेष गरी कुनै कलाकार र सेलिब्रेटिहरूको आत्महत्यालाई मिडियाहरुमा गौरवको विषयको रूपमा प्रस्तुत गर्ने (glorify गर्ने) , रोमान्चकताको विषय बनाउने (romanticize गर्ने) गरेको देखिन्छ, जुन अत्यन्तकै गलत हो। त्यस्तै आत्महत्यालाई एकदमै सामान्य घटनाको रूपमा देखाउने खालको भाषाशैलीको प्रयोग गर्नु पनि गलत अभ्यास हो।

८. शब्द चयनमा ध्यान दिनेः

आत्महत्या सम्बन्धी सामाग्रीको प्रकाशन वा प्रशारणमा सञ्चारकर्मीहरूले शब्द चयनमा ध्यान दिनु पर्ने हुन्छ । सामग्रीमा ‘असफल आत्महत्या’, ‘आत्महत्या गर्न सफल’ जस्ता शब्द प्रयोग गर्नु हुँदैन।

गइडलाइन र जनचेतना को आवश्यकताः

विगत केही समयमा सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आत्महत्या सम्बन्धी समाचार तथा सामग्री आउने क्रम तीव्र रुपमा बढेको छ । यस सँगै नेपालमा पनि आत्महत्याको जिम्मेवारपुर्ण रिपोर्टिङ सम्बन्धी गाइडलाइन वा आचार संहिताको खाँचो टड्कारो रूपमा देखिन थालेको छ ।

सबै भन्दा चिन्ताको कुरा त के छ भने केही दिन यता सामाजिक सञ्जालमा कपिक्यट सुसाइड नै देखा पर्न थालेका छन् , जसको बढी जोखिममा छन् इन्टरनेट मा बढी समय बिताउने किशोर-किशोरीहरू । त्यसो त ‘पत्रकार आचार संहिता, २०७३’ अक्षरसः पालना गर्ने हो भने पनि धेरै हद सम्म आम जनतामा नकारात्मक प्रभाव पर्न बाट रोक्न सकिन्छ।

च्याउ उम्रिए सरी बढेका अनलाइन समाचार साइटहरू र युट्युव च्यानलहरू र तिनिहरूको अस्त व्यस्त अवस्था हेर्दा गाइडलाइन जारी गरी कडा रूपमा लागू गर्नु पर्ने नै देखिन्छ । त्यसको साथसाथै सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा गलत तरिकाले सम्प्रेषण गरिने सामाग्रीहरूले पाठक/दर्शकहरूमा कसरी र कस्ता असर पार्न सक्छन् भन्ने चेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ।

पाठक,श्रोता वा दर्शकको मनोविज्ञानमा गम्भीर असर पर्ने संवेदनशील समाचारहरू जथाभाबी रूपमा प्रस्तुत गर्नु जनस्वास्थ्य सँग खेलबाड गर्नु हो। यस विषयमा सम्बन्धित निकायहरूले गम्भीर भई तुरुन्त कदम चाल्नु पर्ने देखिन्छ।

(लेखक मनाेविज्ञान विषयमा स्नातकाेत्तर हुन् )

………………………………….

यदि तपाई वा तपाईको नजिकको कोहीमा आफूलाई चोट पुर्याउने किसिमका विचारहरू छन् भने यी मध्ये कुनै फोन नम्बरमा सम्पर्क गरी दक्ष मानसिक स्वास्थ्यकर्मी सङ्ग कुराकानी गर्न सक्नुहुनेछ। 
नेपाल मानसिक स्वास्थ्य हटलाइन : 1660 0133666
टि.पि.ओ नेपाल क्राइसिस हटलाइन- : 16600102005
आत्महत्या नियन्त्रणको लागि हटलाइन नम्बर, त्रिवि शिक्षण अस्पताल: 9840021600



प्रतिक्रिया दिनुहोस !