सत्तारुढ नेकपाभित्रको विवाद चर्किरहेका बेला चीनको सकृयता,वरिष्ठ नेता नेपालपछि खनालसँग चिनियाँ राजदूतको भेट
काठमाडौं,२३ असार ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक संघर्ष चर्किरहेका बेला चीनको सकृयता देखिएको छ । पार्टी फुटको संघारमा पुगेको भन्दै समस्या समाधान गर्न स्थायी कमिटी बैठक स्थगित गरेर छलफल चलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले केही दिनदेखि सकृयता बढाएकी छन् ।
सत्तारुढ नेकपाभित्रको विवाद मिलाउनका लागि भन्दै हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएका बेला आज विहान राजदूत यान्छीले पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ आज बिहान खनाल निवास डल्लु पुगेकी थिइन् ।
खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको छ । यद्यपी भेटमा भएका कुरा सार्वजनिक गरिएको छैन । तर सत्तारुढ नेकपाको आन्तरिक द्धन्द्ध बढेपछि राजदूत यान्छीको सकृयातालाई राजनीतिक चासोका रुपमा हेरिएको छ । राजदूत यान्छीले यसअघि उनले पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।
विगतमा राजनीतिक दलहरुबीच विवाद हुँदा भारतीय राजदुतहरुले अपनाएको शैली चिनियाँ राजदूतले सुरु गरेको र यो नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो भन्दै आलोचना हुन थालेको छ ।
नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको छ । नेताहरु पार्टी एकता गम्भीर संकटमा परेको बताएका छन् ।
ओलीले दुबै पद नछोड्ने बरु नयाँ पार्टी बनाउने भनेपछि अहिले बैठक स्थगित गरेर छलफल र सहमतिको प्रयास जारी छ । यै युद्धविरामको अवस्थामा चियिया राजदूतको सकृयता बढेको हो । अघिल्लो पटक पनि विवाद चर्किएपछि चिनियाँ राजदूत यान्छीले सकृता देखाएकी थिईन् ।